वासिङटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अर्ब डलरको राहत प्याकेज सम्बन्धी एक आदेशमा हस्ताक्षर गरेका छन् ।
एक साता अघि नै संसदले विधेयक पारित गरेपनि राष्ट्रपति ट्रम्पले विधेयकमा रहेका प्रावधानमा असहमति जनाउँदै हस्ताक्षर गर्न ढिलाई गरेका थिए । रिपब्लीकन र डेमोक्रेट दुबै दलको सहमतिमा पारित भएको विधेयक स्वीकृत नभएपछि दुबै दलले राष्ट्रपतिमाथि दबाब दिएका थिए । कोभिड–१९ को संकटको सामना गरिरहेका अमेरिकी नागरिक र व्यवसायलाई मद्दत गर्न ल्याइएको उक्त विधेयक दोस्रो हो । यसअघि पनि झण्डै २२ खर्ब डलरको राहत प्याकेज वितरण गरिएको थियो । पछिल्लो विधेयक स्वीकृत गरेसँगै अमेरिकी संघीय कार्यालयहरु बन्द हुने खतरा तत्कालका लागि टरेको छ ।
उक्त विधेयक राष्ट्रपतिबाट स्वीकृत नभएको अवस्थामा यही मंगलबारदेखि कैयौं अमेरिकी संघीय कार्यालयहरु बन्द हुने थिए । फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा क्रिसमसको छुट्टी मनाइरेका राष्ट्रपति ट्रम्पले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “मैले यो विधेयकमा हस्ताक्षर गरिदिएको छु । यसबाट बेरोजगारी भत्ता, साना व्यवसायका लागि घरभाडा, व्यक्तिगत खातामा नगद सहयोग, हवाई सेवाका कर्मचारीलाई पुनः काममा फर्कन, खोप वितरणका लागि थप रकमको व्यवस्था गर्न मद्दत गर्नेछ ।” त्यस्तै रिपब्लीकन सिनेटर मिट रम्नीले पनि राष्ट्रपति ट्रम्पले विधेयकमा हस्ताक्षर गरेकामा आफू निकै खुशी भएको बताएका छन् ।
ट्वीट गर्दै सिनेटर रम्नीले विधेयक स्वीकृत भएसँगै अमेरिकी श्रमिक, परिवार र साना व्यवसायीले निकै राहतको महसुस गर्ने बताए । यसअघि आइतबार उनले राष्ट्रपति ट्रम्पमाथि विधेयक तत्काल स्वीकृत गर्न वा भिटो प्रयोग गर्न चेतावनी दिएका थिए । राष्ट्रपति ट्रम्पले विधेयक स्वीकृत गर्नेक्रममा प्रत्येक अमेरिकी परिवारका लागि हाल प्रस्तावित ६ सय अमेरिकी डलरको साटो एक हजार आठ सय डलर दिनुपर्ने आफ्नो पूर्व अडान यथावत रहेको दोहो–याएका छन् । उनले असम्बन्धित कार्यक्रममा राहत प्याकेजको रकम खर्च हुन लागेको जिकिर गरे । -एजेन्सी