इटहरी / इटहरीमा पहिलो पटक कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट हुने भएको छ । दुर्गा पार्टी प्यालेसमा असार २ गते शनिबार कन्सर्ट हुने आयोजकले जनाएको छ ।

इटहरी सुनसरी लियो क्लब र इटहरी जेसिजको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । युवामाझ निकै लोकप्रिय मानिएका कवि पराजुलीको इटहरीमा पहिलो कार्यक्रम रहेको आयोजक समितिका संयोजक लियो, जेसी युवराज काफ्लेले बताए ।

फरक किसिमबाट हुन लागेको यो कन्सर्टले नेपाली कला साहित्य, भाषा र कविताको श्रीवृद्धि गर्ने आयोजकले जनाएको छ । त्यस्तै, एउटा स्रष्टा कविता लेखेर वाचन गरेर पनि बाँच्न सक्ने अवस्थाको सिर्जना होस् भन्ने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको इटहरी सुनसरी लियो क्लबका अध्यक्ष लियो नवराज खड्काले बताए ।

नेपाली समाजले सांगीतिक तथा खेलकुद क्षेत्रलाई महत्व दिएजस्तै साहित्यिक क्षेत्रलाई पनि महत्व दिनुपर्ने खड्काले बताए ।