इटहरीः धनकुटाका स्थानीय तहहरु कोरोना परीक्षणको आधा शुल्क व्यहोर्न तयार भएका छन् ।

प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीका अनुसार जिल्लास्थित कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमित पहिचानका लागि गरिने पीसीआर परीक्षणको खर्च स्थानीय तहले ५० प्रतिशत व्यहोर्ने निर्णय गरेको छ । यसैगरी सोही बैठकले संक्रमणका कारण ज्यान गुमाउने व्यक्तिको शवसमेत स्थानीय तहमा नै व्यवस्थापन गर्ने निर्णय गरेको उनको भनाइ छ ।

बढ्दो संक्रमणका कारण यस वर्ष तिहारका समयमा हुने देउसी भैलोजस्ता कार्यक्रममा पनि प्रतिबन्ध लगाइएको प्रजिअ बिमलीले जानकारी दिए । सेन्टरको बैठक जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको थियो ।