इटहरीः कोरोना महामारी रोकथामको लागि लागू गरिएको ३ महिने लामो लकडाउन र त्यसपछि गरिएको निषेधाज्ञाले कोरोना नियन्त्रणमा थोरै टेवा पुगेको होकि भन्ने कता कता हामीलाई लाग्न थालेको छ । किन भने लकडाउनको समय र त्यसपछिको समयमा कोरोनाबाट संक्रमित हुनेको संख्या तुलनात्मक रुपमा बढ्ने गरेको छ । हुन त कोरोना संक्रमितको संख्या वृद्धि हुनुमा परिक्षणको मात्राले पनि प्रभाव परेको देखिन्छ । इटहरीलाई नै सेरोफेरो बनाएर हेर्ने हो भने कोरोना परिक्षणको मात्रा बढेसँगै संक्रमितको संख्या पनि पहिलेको अनुपातका अधिक मात्रामा बढेको छ । लकडाउनको समयमा इटहरीमा दैनिक ८०/९० जनाको पीसीआर परिक्षण गर्दा मुस्किलले १/२ जनामा कोरोना पोजेटिभ देखिन्थ्यो तर अहिले दैनिक १३०/१४० जनाको परिक्षण गर्दा ३०/४० जनामा कोरोना पोजेटिभ देखिने गरेको छ ।

यहि गतिमा कोरोना संक्रमितको संख्या थपिँदै जाने हो भने इटहरीमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै जानेमा दुई मत छैन । यो वेला सबै मिलेर कोरोना नियन्त्रण र सामान्य जिवनयापनका लागि पहिलेकै अवस्थामा ल्याउनमा प्रयत्न गर्नुपर्नेमा इटहरीमा एक अर्कालाई कोरोना फैलाउनेमा दोषि देखाएर पन्छिने काम भएको छ ।

 कोरोना संक्रमणको अवस्था भयावह बन्नुमा जिल्ला प्रशासन र उद्योग बाणिज्य संघ जिम्मेवारः उप–प्रमुख 

इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले इटहरीमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै जानुमा उद्योग बाणिज्य संघ इटहरी र जिल्ला प्रशासन कार्यालय सुनसरी प्रमुख जिम्मेवार भएको आरोप लगाएकि छिन् । ‘जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँगको समन्वयमा लकडाउन खुकुलो भएपछि बजार कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने हो तर त्यसो गरेन् । उहाँहरुले इटहरीमा बजार हेर्ने जिम्मेवारी उप–प्रमुखलाई भएको आधारमा मसँग छलफल गर्नुपर्नेमा त्यसो गर्नुभएन । लकडाउनलाई कसरी परिमार्जन गर्ने भन्ने विषयमा पनि उहाँहरुले उद्योग बाणिज्य संग सँग पत्र माग्नु भयो । अहिले बजार अस्तव्यस्त भएपछि हामीलाई अनुगमन गर्नु भन्नु भएको छ तर विना निर्णय हामी कसरी बजारमा जाने ?’, उनले भनिन् ।

उनले बजार अस्तव्यस्त भएकाले नै कोरोना संक्रमण बढेको र यसको सम्पुर्ण जिम्मेवारी जिल्ला प्रशासन र उद्योग बाणिज्य संघलाई जना बताइन् । ‘इटहरीमा विना पुर्व तयारी धमाधम बजार खुलेका छन् । फुटपात पनि सञ्चालनमा आएका छन् । मैले एक महिना अगाडिदेखि नै बजार खुलाउँदा निषेधित क्षेत्र घोषणा गरेर र बजारको लागि एक निश्चित ठाउँ तोक्नुपर्छ भन्दै आएको थिएँ । मेरो कुरा उहाँहरुले सुन्नु भएन त्यही भएर अहिले यो अवस्था आएको हो । यदि मैले भनेको जस्तो उहाँहरुले पहिला नै बजारलाई निश्चित क्षेत्रमा राख्नुभएको भए सायद यो स्थिति आउने थिएन होला’, उनले भनिन् ।

 उनले जिल्लाको १२ वटा स्थानीय तहमा फरक फरक अवस्था रहेकाले सबैमा एउटै निणर्य गर्नु गलत भएको बताइन् । ‘स्थानीय तहको बजार हर्ने काम उप–प्रमुखको नेतृत्वमा रहने गर्छ । सुनसरीको स्थानीय तहमा उप–प्रमुख प्राय महिला छौँ यसले पनि उहाँहरुले हामी सँग समन्वय नगर्नु भएको हो कि भन्ने लागेको छ । यस्तै सुनसरीका १२ वटा स्थानीय तहको आ–आफ्नै रहनसहन, चालचल र भौगोलिक अवस्था रहेकाले एउटा स्थानीय तहलाई हेरेर सबैको लागि एउटै मापदण्ड बनाउनु गलत हो । म फेरि पनि भन्छु इटहरीमा कोरोना संक्रमणको अवस्था भयावह बन्नुमा जिल्ला प्रशासन र उद्योग बाणिज्य संघ इटहरी नै जिम्मेवार हो’, उनले भनिन् ।

 एक अर्कालाई आरोप लगाउने काम नगरौँ ः पौडेल

 उद्योग बाणिज्य संघ इटहरीमा सभापति भिम पौडेलले कारोना नियन्त्रणमा सबैको भूमिका उतिकै भएकाले एक अर्कालाई आरोप लगाउने काम नगर्न अनुरोध गरेका छन् । ‘इटहरीमा मात्रै हैने हाम्रा नजिकका पालिका, हाम्रा नजिकका जिल्ला र नेपालमा नै कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै छ । यसमा कुनै पनि एक निकाय जिम्मेवार छैन् । सबैबाट केहिन केहि त्रुटि भएका छन् । अब कोरोना नियन्त्रण गर्न र सामान्य जिवनयापन गर्न हामी सबै मिलेर लाग्नुपर्छ । साथै एक अर्कालाई आरोप प्रत्यारोप गरेर झन् कोरोना संक्रमण बढ्छ त्यसैले हामीले मिलेर कोरोना नियन्त्रण गर्नुपर्छ’, उनले भने ।

उनका अनुसार लक्ष्मी गौतमले भने जस्तो स्थानीय तहसँग समन्वय नभएको भने होइन् । ‘उहाँले भने जस्तो स्थानीय तहसँग समन्वय नभएको होइन । हामीले बारम्बार इटहरीका नगर प्रमुख द्धारिकालाल चौधरीसँग समन्वग गरेर नै निर्णय गर्ने गरेका छौँ । हामीलाई जिल्ला प्रशासन कार्यालयले लकडाउन खुकुलो बनाउने सम्बन्धमा प्रतिवेदन तयार गर्न लगाउँदा पनि मेयरसँग छलफल गरेर नै प्रतिवेदन पेस गरेका थियौँ’, उनले भने । साथै उनले कोरोना नियन्त्रण र बजार व्यावस्थापनमा उद्योग बाणिज्य संघ लागिरहेको जानकारी दिए । ‘हामी प्रत्येक दिन संघका साथीहरुको फरक फरक टिम बानाएर बजार अनुगमन गरिरहेका छौँ । त्यस्तै प्रत्येक दिन नै ‘माइकिङ्’ गरिरहेका छौँ । दिनभर इटहरीको बजारमा भएका गतिविधिहरु जिल्ला प्रशासनलाई जानकारी गराइरहेका छौँ’, उनले भने । यतिका काम गर्दा पनि कोरोना फैलनुमा इटहरी उद्योग बाणिज्य संघलाई दोषि भन्नु गलत भएको पौडेलले बताए ।

 हामीले मापदण्ड बनाउँदा इटहरीलाई नै बढि प्रथामीकतामा राखेका छौँः प्रमुख जिल्ला अधिकारी

लकडाउन खुकुलो बनाउँदा जिल्ला प्रशासन कार्यालयले इटहरीलाई बढि प्राथामीकतामा राखेर नै मपदण्ड बनाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलले जनाकारी दिए । ‘जब नेपाल सरकारले लकडाउन खुकुलो बनायो र जिल्लालाई नै मापदण्ड बनाएर कायान्वयन गर्ने जिम्मेवारी दियो त्यो बेला देखिनै हाम्रो पहिलो प्राथामीकतामा इटहरी थियो । हरेक तवरबाट इटहरी मुख्य ठाउँ भएकाले हामीले इटहरीलाई प्राथामीकतामा राखेका हौँ । हामीले ४÷५ पटक इटहरीमा नै बैठक राखेका थियौँ । नगर प्रमुखको उपस्थितिमा नै यो निर्णय भएको हो’, उनले भने । साथै उनले अरुलाई आरोप लगाएर आफू जोगिन खोज्नु ‘बच्चा’को जस्तो कुरा भएको भने । उनका अनुसार इटहरीमा कोरोना बढ्नुमा जिल्ला प्रशासन कार्यालय मात्र दोषि होइन् ।