धरानः अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो ‘नेपाल आइडल’को दोस्रो संस्करणको टप ११ मा परेकी धरानकी हिना मल्ल बराइलीलाई जिताउन परिवारले अपिल गरेको छ ।

टप १२ देखि भोटिङ प्रणालीमार्फत् छनोट हुँदै जानुपर्ने भएकाले हिनाको परिवारले सबैसँग सहयोगको लागि अपिल गरेको हो । धरानमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै हिनाकी आमा रीता बराइलीले छोरीलाई जिताउन धरानका विभिन्न सङ्घसंस्था तथा नगरबासीलाई अपिल गरेकी हुन् । गायनमा अब्बल रहेकी हिना टप ११ मा पर्न सफल भए पनि टप १२ बाट भोटिङ प्रणाली लागू भएपछि उनी एकपटक बटम ३ मा परिसकेकी छिन् । त्यसैले उनलाई अगाडि बढ्न धेरै भोटको आश्यकता रहेको उनकी आमाले बताइन् ।

‘छोरी अगाडि बढ्न धेरै भोटको खाँचो छ, म एक्लैले के गर्ने ? सबैले प्रचार गर्दै भोट दिएर सहयोग गरिदिनुहोला,’ उनले भावुक हुँदै भनिन् । हिना धरानकी चेली भएकाले पनि सहयोग गरेर जिताउन उनको आग्रह थियो । हिना धरान–९ की स्थायी बासिन्दा हु्न् । उनकी आमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्छिन् । उनको परिवारमा एक दिदी, आमा र उनी छिन् ।

आर्थिक अवस्था कमजोर रहेकी हिनालाई जिताउन यतिबेला धरान–९ का वडाध्यक्ष रत्न कट्वाल लागिपरेका छन् । हिनाको सहयोगको लागि आफू लागिरहेको उनले बताए । हिनालाई उनले सोही पत्रकार सम्मलेनमा व्यक्तिगत रुपमा नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरे । ‘हिना मेरो वार्डबासी भएकाले म जुनसुकै सहयोग गर्न तयार छु,’ उनले भने, ‘नगरपालिकामा पनि एक पटक हिनाको बारेमा कुरो राख्छु हेरौँ के हुन्छ ।’

हिनालाई परियार सेवा समाजका जिल्ला अध्यक्ष खगेन्द्र नेपालीले पनि नगद ५ हजार रुपैयाँ सहयोग गरे । उनले पनि हिनालाई जिताउन अभियानमा साथ दिने बताए । यस्तै, गायक डिल्ली फोम्बोले पनि नगद ३ हजार रुपैयाँ हस्तान्तरण गरे । गायक फोम्बोले हिना टप १२ मा परेको थाहा पाएपछि कार्यक्रममा जाँदा हिनालाई जिताउन सबैसँग आग्रह गरेको बताए ।

हिना राम्रो गायन प्रतिभा भएकोले पनि हिनालाई जिताउन अभियानमा साथ दिने उनले बताए । हिना जिताऔं अभियानको लागि धरान रन र जिराइ क्रियसन, विश्वकर्मा कल्याण धरान नगर समिति, दलित विकास समितिलगायतका प्रतिनिधिले साथ दिने प्रतिबद्धता समेत जनाए । हिना धरान रनको सदस्य समेत हुन् । एक÷दुई दिनमा ‘हिना जिताऔं अभियान’ समिति गठन गरेर द्रुत गतिमा अभियान सञ्चालन गर्ने विश्वकर्मा कल्याण सेवा समितिका अध्यक्ष केदार बराइलीले बताए ।

भोटिङ गर्ने समय साढे १५ घटा मात्र
भोटिङ गर्नको लागि बिहीबार साँझ साढे ८ बजेदेखि शुक्रबार १२ बजेसम्म भोट गर्न सकिने पत्रकार सम्मेलनमा बताइएको छ । जसको लागि मोबाइलको म्यासेज बक्समा गएर हिनाको भोटिङ कोड ०४ टाइप गरी ३१००९ मा एसएमएस गरेर सहयोग गर्न आग्रह गरिएको छ । नेपाल आइडलको शो एपि वान टेलिभिजनबाट प्रशारण भइरहेको छ ।