खोटाङः खोटाङ जिल्लामा दुई प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी भएको छ । तालिममा गएर जिल्ला प्रहरी कार्यालय फर्किएका दुई प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी भएको हो ।
दुई प्रहरी जवान दुहवी दंगा सुनसरीमा बसेर असोज ११ गते खोटाङ फर्किएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट २८ जनाको पिसिआर परिक्षणमा स्वाव पठाइएकामा दुई जना प्रहरीलाई संक्रमण भएको पूष्टी भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख दिपनारायण रिजालले बताए ।
२८ जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षणका असोज १२ गते टेकु पठाइएकामा बिहिबार पोजिटिभ रिपोर्ट आएको हो । प्रहरी जवानलाई दुहबीबाट आएसँगै जिल्ला प्रहरी कार्यालयको क्वारेन्टीनमा राखिएको थियो भने हाल संक्रमण भएका प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।
यसअघि सरुवा भएर जिल्ला प्रहरी कार्यालय आएका ७ जना प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी भएको थियो । यससँगै खोटाङमा पिसिआर परिक्षणमा पठाएकामध्ये कोरोना संक्रमण पूष्टी भएको संख्या २३ पुगेको हो ।
हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पिसिआर परिक्षणमा पठाइएकामध्ये १५ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १ जना, साकेला गाउँपालिकामा १ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना र बराहपोखरी गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पूष्टी भएको थियो ।भने , २१ जना कोरोना भाईरस संक्रमण भएका मानिसहरु निको भएर घर फर्किएका छन ।