दुहबीः फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहकको लागि जितिया पर्वको अवसर पारी विभिन्न कार्यक्रम गरेको छ ।

कार्यक्रममा समाजसेवी तथा उद्यमी महिलालाई दोसल्लासहित कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपा प्रदेश नं. १ इञ्चार्ज भीम आचार्यले जितिया पर्वले नेपाली समाजको सामाजिक एकता तथा भाइचाराको सम्बन्धलाई बलियो बनाउनुका साथै आपसी सद्भाव बढाउने बताए ।

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै प्रतिनिधि सभाका महिला, बालबालिका तथा सामाजिक विकास समितिकी सभापति निरु देवीपालले विपन्न परिवारका महिलालाई सङ्गठित गर्दै लघुवित्तले आर्थिक स्तर उकास्न सहयोग गरेको बताइन् ।

संस्थाकी अध्यक्ष भगवती चौधरीले लघुवित्त संस्थाले व्यावसायिक मर्यादाका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा कार्यक्रम गरेको बताइन् ।

कार्यक्रममा समुदायमा लामो समयदेखि अनवरत रूपमा सक्रिय रहने सामाजिक, राजनीतिक तथा आर्थिक उन्नति र विकासका लागि योगदान पु¥याउने व्यक्तिलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा १ सय ५० जना समाजसेवी तथा ३५ जना लघु उद्यमीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गढी गाउँपालिकाका प्रमुख श्रीप्रसाद यादव, इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनाराण माझी, वित्तीय संस्थाका कम्पनी सचिव कृष्णप्रसाद भट्टराई तथा वरिष्ठ प्रबन्धक हीरा थन्दारको पनि उपस्थिति थियो ।