भगवान श्रीकृष्णको जन्म दिन आज (मंगलबार) देशभर कृष्णाष्टमी पर्व मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।

विगतका वर्षहरुमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण कृष्ण मन्दिरमा खासै चहल पहल छैन । शोभायात्रा निकाल्ने र झुला झुलाउने काम पनि नगर्न स्थानीय प्रशासनले आग्रह गरेका छन् ।

कृष्ण जन्माष्टमीको दिन अत्यधिक भिडभाड हुने ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर आज बन्द गरिएको छ । यहाँ राष्ट्रपतिसमेत दर्शनका लागि जाने प्रचलन छ ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना दिएकी छन् । यस पर्वले धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पु¥याउने विश्वास उनले व्यक्त गरेकी छन् ।


कोरानो भाइरसको प्रभाव बढीरहेका बेला सचेत भएर कृष्णाष्टमी मनाउन सबैमा सरकारले आग्रह गरेको छ ।