इटहरीः आज बिहान सुनसरीको हरिनगरामा मुस्लिम धर्मगुरु (मौलाना) तथा समाजसेवी खुर्शीद आलमको हत्या भएपछि मुस्लिम समुदायका नेता तथा धर्मगुरुले काठमाडौंमा गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेका छन् ।

उनीहरूले गृह मन्त्रीलाई भेटेर घटनाको बारेमा उच्चस्तरीय छानबिन समिति गठन गरी हत्यारा पत्ता लगाई कानुनी कारवाही गर्न माग गरेका छन् । भेटको क्रममा उनीहरूले गृहमन्त्री स्वयं घटनास्थल गएर मृतकका परिवार र आम जनतालाई आश्वास्त नपारेसम्म शव पोष्टमार्टममा जान नदिने र शवसमेत नबुझ्ने अडान राखेका थिए । गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गरी हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको बताएका थिए । 

khursid pradeshportal 2

प्रत्येक २ वर्षमा मुस्लिम नेता मारिँदैछन्
सीमा क्षेत्रमा प्रत्येक २ वर्षमा मुस्लिम नेता मारिने गरेको मुस्लिम नेताहरूले बताएका छन् । गृह मन्त्रीलाई भेटेर फर्किएपछि प्रदेश पोर्टलसँगको टेलिफोन वार्तामा पूर्व महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री जाकिर हुसेनले भने, ‘मुस्लिम समुदायलाई लक्षित गरेर प्रत्येक २ वर्षमा आक्रमण भइरहेको छ ।’

‘सीमा क्षेत्रका मुस्लिमप्रति योजनाबद्ध ढङ्गले नै आक्रमण भएको देखिन्छ’, राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनका महासचिव समेत रहेका हुसेनले भने, ‘प्रशासनले पनि मुस्लिम समुदायलाई सहयोग गर्न चाहँदैन ।’ घटनास्थलबाट ५÷६ किलोमिटर टाढा भुटाहा प्रहरी चौकी हुनु अनि सोही चौकीअगाडिबाट आक्रमणकारी भाग्दा पनि पक्राउ गर्न नसक्नुले यसलाई पुष्टि गर्ने उनले बताए । यो घटनामा आफूहरूले प्रहरीमाथि नै शङ्काको नजरले हेरेको उनले बताए ।

नेपालमै मुस्लिमको ठूलो जनघनत्व भएको ठाउँमा घटना हुनुलाई मुस्लिममाथिको ठूलै प्रहारको रूपमा लिएको र घटनालाई सामान्य रूपमा लिइए यसले उग्र रूप लिन सकनेतर्फ गृहमन्त्रीलाई जानकारी गराएको उनले बताए । घटनाको बारेमा तत्काल आवश्यक निर्देशन दिइसकेको र शुक्रबार यस विषयमा सुरक्षा निकायमा व्यापक छलफल गरी अघि बढ्ने आश्वासन गृहमन्त्रीले दिएको हुसेनले बताए ।

सय प्रहरी परिचालित
गृह मन्त्रालयको निर्देशनमा फरार सुटरको खोजीका लागि एसपीको कमाण्डमा १ सय जना प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।