बिर्तामोडः विपन्नको सूचीमा रहेका झापाको कनकाई नगरपालिका वडा नम्बर ४ का एक व्यक्तिको घरबाट करिब २५ लाख नगद प्रहरीले फेला पारेको छ ।
लकडाउनका कारण विपन्नको सूचीमा परेर एक दिन अघिमात्र कनकाई नगरपालिकाबाट राहत सहयोग लिएका कनकाई–४ का ५१ वर्षीय ठाकुरसिंह राईको घरमा आइतवार प्रहरीले २५ लाख नगद फेला पारेको हो । उनलको घरमा शनिवार अपरान्ह आगलागी हुँदा सो रकमको आधा जलेको र आधा सग्लो अवस्थामा प्रहरीले फेला पारेको बताइएको छ ।
कनकाई सामुदायिक वनको क्षेत्रभित्र झुपडी बारेर बनाइएको घरमा उनी बस्दै आएका थिए । उनको सहित केही घरमा आगलागी भएको थियो ।
कवाडी सामान र प्लाष्टिकका वोतल टिपेर गुजारा चलाउने उनको घरमा सग्लो ९ लाख र आधा डढेको ६ लाख भेटिएको हो । घर जलेपछि उनी पीडामा छन् । तर उनको घरमा त्यत्रो धनराशी कसरी भयो भन्ने बिषयमा प्रहरीले स्रोत खोज्न सुरु गरेको छ ।
आगो निभाउने क्रममा राईको घरको भग्नावशेषबाट उक्त नगद फेला पारिएको हो । आगो निभाउन खटिएका कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओलीले राईको घरमा गाडिएको एउटा ठूलो जस्ताको बाकसभित्र हजार र पाँचसय दरका बिटै बिटा भेटिएको बताए ।
आगो निभाउन खटिएका रेडक्रसका पदाधिकारी र प्रहरीले बाकसमा भएको पैसा गने । त्यहाँ नजलेको मात्रै हजार र पाँचसय दरको सग्लो नौ लाख रुपैँया थियो । जलेको तर बैङ्कमा साट्न मिल्ने थप छ लाख रुपैँयाँ थियो । बाँकी जलेको पैसा समेत जोड्दा झण्डै २५ लाख हाराहारी भएको बताइएको छ ।
राईले आफूसँग बाकसमा २४ लाख ५० हजार भन्दावढी रकम, डेढ तोला सुन र १८ तोला चाँदी रहेको स्वीकारेका छन् । फेला परेको नगद इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ । प्रहरीले रकमको स्रोतवारे अनुसन्धान गरिरहेको जनाएको छ । लक डाउनले बजार बन्द भएपछि उनको कमाई बन्द भएको भन्दै नगरपालिकाले प्राथमिकतामा राखेर राईलाई पाँच किलो चामल, दाल, तेल, नुन र सावुन दिएको थियो ।