इटहरीः तीर्थयात्राका लागि भारत गएका इटहरीका १० जनाको सवारी दुर्घटनामा परि ज्यान गएको छ । बुधबार राती भारतको तमिलनाडुको सालेम भन्ने ठाँउमा नेपाली तीर्थयात्रु बोकेको बसलाई विपरित दिशााबाट आएको बसले ठक्कर दिदा इटहरीका १० जनाको ज्यान गएको हो । इटहरीबाटै तीर्थयात्री बोकेर गएको को १ ख ५३३४ नम्बरको नेपाली तीर्थयात्रीको बसलाई बुधबार राती अर्को बसको ठक्कर दिएको थियो । मध्यरातमा नेपाली तीर्थयात्री बोकेको बसले यु टर्न लिन खोज्दा विपरित दिशाबाट आएको बसले ठक्कर दिएको थियो ।दुर्घटनामा मृत्यु हुनेमा वीरबहादुर राई, गोपाल तामाङ, फूलसरी चौधरी, बुधनी चौधरी, विष्णु दाहाल, टीकाराम चौधरी, रशिलाल चौधरी र उनकी श्रीमती छन् ।घाइते भएका २१ जनाको तमिलनाडुमै उपचार भइरहेको छ । दुर्घटनामा इटहरी वडा नम्बर १०, ११ र १२ वडाका १० जनाको ज्यान गएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले समाजिक संजालमा पोष्ट गरि पुष्टि गरेकी छन् । त्यसैगरि वडा नम्बर १० का वडा अध्यक्ष प्रकाश चौधरीले पनि फेसबुक मार्फत आफ्ना वडाका सबैभन्दा बढी ज्यान गुमाउनेमा परेको बताएका छन् । उनले ज्यान गुमाउनेहरुको शब ल्याउने प्रकृया अगाडी बढाइएको बताए ।