इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १६ मा निर्माण भईरहेको भाटभटेनी सुपरमार्केट प्रालिको व्यापारिक भवन निर्माणका लागि कानूनलाई मिचेर इजाजत दिएको बिषय अख्तियारमा पुगेपछि इटहरी उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर अर्जुन दाहालले राजीनामा दिएका छन् । उनले उपमेयरलाई दोष दिएर राजीनामा दिएपनि अख्तियारको कार्वाहीमा पर्ने पक्काजस्तो भएपछि सुक्रबार(हिजो) प्रमुख प्रशासकिय अधिकृतलाई राजीनामा पत्र बुझाएका हुन् ।
लामो समयदेखि बरिष्ठ इन्जिनियर भएर कार्य गरेका दाहालले इटहरी उपमहानगर क्षेत्रमा घर नक्शाफाँटमा गरेका निर्णयहरु विवादित छन् । उनले इटहरीका खोला, नाला मिचेर बनाइएका धेरै व्यवसायी भवन तथा व्यक्तिघरहरुका लागि निर्माण इजाजत प्रदान गरेका छन् । यतिसम्मकी आफै निर्माण इजाजत रोक्ने चिठ्ठी काट्ने र आर्थिक लेनदेन भएपछि पुनः आफै निर्माण इजाजत फुकुवा देखि निर्माण सम्पन्न प्रमाणपत्र दिने सम्मका कार्यहरु उनै दाहलले गरेका प्रमाणहरु इटहरी उपमहानगरपालिकाको घर नक्शाफाँटको अभिलेखीकरणका भेटिन्छ । उनले प्रेम चौधरी लगायतको लगानीमा संचालित सुन्दरदेवी हाउजिङ, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम बहादुर पौडेल लगायतको लगानीमा निर्माणधिन इटहरी २ र ३ को सीमा रहेको फनपार्क,डाक्टर संजय राठीले निर्माण गरेको घर लगायत यसका केही उदाहरणहरु हुन् ।
केही साताअघि स्थानीयले निर्माण इजाजत र घरनक्सा बिनानै पौडेलले फनपार्क बनाईरहेको उजुरी इटहरी उपमहानगरपालिकामा दिएका थिए । उनै इन्जिनियर दाहालले एक पत्र लेखि तत्कालका लागि निर्माण रोक्न पौडेललाई पत्र काटेका थिए । पत्रकाटेको केही दिनमै पुनः इन्जिनियर दाहालले नै निर्माण कार्य फुकुवाको पत्र पौडेललाई पठाएका थिए । डाक्टर संजय राठीको घर निर्माणमा पनि सोही अनुसार उनले निर्णय गरेका थिए । पहिला पैनी मिचेको भन्दै रोकेको र पछि आफैले पैनी भएको कुरा काटेर नभएको बनाई घर निर्माण सम्पन्नको इजाजत दिएका थिए ।
पछिल्लो पटक भाटभटेनीको व्यापारिक भवन निर्माणमा भाटभटेनीका मालिकसंग राम्रो सेटिङमा उनले कानून बाहिर गएर भवन निर्माणका इजाजत दिएपछि दाहालको थप फँटाई बाहिर आएको थियो ।
उनले इटहरी उप–महानगरको भवन ऐन २०७५ को दफा २४ को उप दफा ३ अनुसार ‘भवनको प्लिन्थ एरियाको क्षेत्रफल ५००० बर्गफिट र तीन तलाभन्दा बढी भएमा, स्वास्थ्य वा शैक्षिक संस्था वा कम्प्लेक्स वा पूर्ण व्यापारिक भवन भएमा अनिवार्य रूपमा निरीक्षण एवं प्राविधिक समितिको सिफारिसमा नक्सापास हुनेछ’ भन्ने उल्लेख छ ।
उपमेयर संयोजक रहने उक्त निरीक्षण समितिमा प्रमुख प्रशासकीय अधिकृतसँगै स्ट्रक्चर इन्जिनियरसमेत हुन्छन् । समितिको संयोजक तथा उपप्रमुख लक्ष्मी गौतमलाई नै भाटभटेनीले भवन बनाउन नक्सापास गरेको या नगरेको बारे जानकारी नदिई स्थानीय तहको निर्माण ऐनलाई नै मिचेर निर्माणको इजाज इन्जिनियर दाहालले दिएपछि उपमेयर गौतम असन्तुष्ट भएकी थिइन् । उनले भाटभटेनीले इजाजत लिईसकेको चाल पाएपछि भाटभटेनीको सबै फायल नियन्त्रणमा लिएकी थिइन् । उनले फायल नियन्त्रणमा लिएको भोलिपल्टै अख्तियार कार्यालय इटहरीमा बेनामे उजुरी परेको थियो ।
इजाजत दिँदा सम्बन्धित १६ नम्बर वडाका अध्यक्षलाई संयोजक बनाएर भाटभटेनीलाई इजाजत दिएको पाइएको छ । तर, भवन निर्माण सम्बन्धी ऐनले भने उप प्रमुख बाहेक अन्यले सो समितिको संयोजक बन्न पाउने प्रावधान नै राखेको छैन । नियम विपरित भएको बैठकमा उप–महानगरपालिकाका वरिष्ठ इन्जिनियर दाहाल, १६ नम्बर वडाध्यक्ष दीपनारायण चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बिका कुमारी शाहको हस्ताक्षर छ ।
भाटभटेनीको फायल उपमेयरले नियत्रन्णमा लिएपछि वरिष्ठ इन्जिनियर दाहालसंग ठूलै खटपट सुरु भएको थियो । सो बिषयमा अख्तियारमा समेत उजुरी परि छानविन शुरु भएपछि दाहाललाई निकै सकस हुदै आएको थियो । इन्जिनिर दाहालले ओमसाई कन्सल्टेन्सीमार्फत भाटभटेनीलाई नक्सापास तथा निर्माण इजाजतको प्रमाणपत्र दिएका थिए । सो कन्सल्टेन्सी उनै दाहालले केही बर्षअघि इन्जिीनियर भविन खड्कालाई बिक्री गरेका थिए । हिजो आजपनि खड्काले चलाईरहेको सो कन्सल्टेन्सीका मूल्याङ तथा अन्य फायलमा इन्जिीनियर दाहालले हस्ताक्षर गर्ने गरेका छन् ।
अख्तियारले छानविन थालेपछि वरिष्ठ इन्जिीनियर दाहाल विदामा बसेका थिए । विदामा बसेकै बिहिबार राती उपमेयर गौतमसंग उनको फोनमा विवाद भएको थियो । फोनमा तथानाम गाली गलौच समेत भएको स्रोतको दावी छ । उनले प्रमुख प्रशासकिय अधिकृतलाई पटक पटक घुमाउरो तरिकाले ‘म विना नगरपालिका कसरी चलाउदा रहेछौ हेरौं’ भन्दै इन्जिनियर दाहालले धम्की दिएको स्रोतको दावी छ । राजीनामा दिए लगत्तै सुक्रबार नै गोप्य रुपमा दाहालको राजीनामाको बिषयमा प्रमुख प्रशासकिय अधिकृत , उपमेर , वरिष्ठ इन्जिनियर दाहाल र नेकपाका नेता रेवतीरमण भण्डारी बीच बैंठक बसेको थियो । बैंठकमा वरिष्ठ इन्जिनयर दाहालले दुई मिनेटमा कुरा राख्नुहोस् भनेका थिए । राजीनामाका बिषय र उपमेयर राती फोन मार्फत गरिएका कुराकानीका बिषयमा कुरा निस्कनसाथ वरिष्ठ इन्जिीनियर दाहालले ‘मैले तपाईहरुको कुरा बुझे’ भन्दै उठेर हिडेको स्रोतको दावी छ । वरिष्ठ इन्जिनियर दाहालको राजीनामाको बिषय आइतवारसम्ममा कार्यपालिका बैंठकमा पेश गरि छिनोफानो हुने नगरपालिका स्रोतले बताएको छ ।