इटहरीः सुनसरीः बलात्कार आरोपमा गत मंसिर १६गते पक्राउ परेका कृष्णदास गिरी सिद्धबाबा भनिने कृष्णदास गिरीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत सुनसरी श्रेष्तेदार नगेन्द्रकेशरी पोख्रेलले जानकारी दिए ।

एक २९ वर्षीया अनुुयायी महिलालाई करणी गरेको आरोप सिद्धबाबामाथि लागेको थियो । उनलाई मंसिर १६ गते विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो ।
आइतबारदेखि दुई दिनसम्म चलेको थुनछेक बहसपछि जिल्ला अदालत सुनसरीले यस्तो आदेश दिएको हो । आफ्नै अनुयायी महिलालाई आश्रममा बोलाएर बलात्कार गरेको उजुरीका आधारमा गिरी गत मंसिर १६ गते पक्राउ परेका थिए ।
यता कृष्णदासलाई कडा कारवाही हुनुपर्ने माग गर्दै आएका महिलाहरुले भने उच्च अदालत जाने चेतावनी दिएका छन् । अदालतको फैसला चित्त नबुुझेको भन्दै प्रदर्शनमा रहेका महिलाले असन्तुुष्टी जनाउँदै अदालत परिसरमा प्रदर्शन गरेका थिए ।