इटहरीःजवरजस्ती करणी उद्योगमा सिद्धबाबा भनिने कृष्णदास गिरीको थुनछेक बहस आइतबार नसकिएपछि मुद्दा जिल्ला अदालत सुनसरीमा ‘हेर्दा हेर्दै’को सुचीमा गएको छ ।
प्रतिवादी अर्थात पीडक गिरी तर्फका वकिलहरुको बहस आइतबार नसकिए पछि सोमबार (आज) को लागि यो मुद्दा हेर्दा हेर्दैको सुचीमा राखिएको हो । पीडक तर्फका २ जना वकिलको वहस बाँकी भएकोले सोमबार पुनः बहस हुनेछ । आइतबार बिहान ११ बजेबाट सुरु भएको थुनछेक बहसमा पीडित महिला तर्फका वकिलहरुले वहस गरिसकेका छन् । गिरीतर्फका वकिलहरुको भने बहस अझै बाँकी नै छ । आइतबार समय अभाव भएको कारण हेर्दा हेर्दैको सुचीमा राखेर बहस भोलीको लागि सारिएको श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेले जानकारी दिए ।
जिल्ला सरकारी वकिल कार्यालय इनरुवाका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला सहित ८ जनाले पीडित महिलाको तर्पmबाट वहस गरेका थिए । बहसमा संलग्न वकिल निराजन ओझाका अनुसार कृष्णदास सोमबार पूर्वपक्षका लागि थुनामा जाने संभावना बलियो रहेको छ । उनीहरुको बहस सकिएपछि प्रतिवादी गिरी तर्फका वकिलहरुले बहस सुरु गरेका थिए । जवर्जस्ती करणीको अभियोग लागेका कृष्णदासको पक्षबाट ५ जना वकिलहरु छन् । ती मध्ये पनि ३ जनाको बहस आइतबार सकिएको छ ।
यता सरकारी वकिलको कार्यालय सुनसरीले अदालतमा बुझाएको अभियोगपत्रमा सबैभन्दा बलियो प्रमाण फोन मार्फत गिरीले महिलासँग माफी मागेको अडियो र म्यासेजलाई मानेको छ ।
सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको अभियोग पत्रमा गिरीले मूलुकी अपराध संहिता, २०७४को दफा २१९को १, २ र ३(ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएकाले सिद्धबाबालाई सोही अनुरुप सजाय माग दाबी गरिएको छ ।
निषेधाज्ञा जारी
सुनसरी जिल्ला अदालतले अदालत परिसरको ५ सय मिटर आसपास क्षेत्रलाई निषेधाज्ञा जारी गरेको छ । शुक्रबार अदालत अगाडी गिरी र महिला पक्षको प्रदर्शन भएपछि निषेधाज्ञा जारी गर्नु परेको अदालतका श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।
आइतबार पनि दुवै पक्षले प्रदर्शन गरेका थिए । जिल्ला अदालत सुनसरीमा यसरी ठूलो समूहले शक्ति प्रदर्शन गरेका बिरलै घटना छन् । पछिल्ला वर्षका घटनाक्रम हेर्दा एक वर्षअघि गोली हानी हत्या गरिएका सुनसरी दुहवी वडा नं. ९ सोनापुर छाताबेलीका मोहम्मद फिदा हुसेनका दोषीलाई प्रहरीले अनुसन्धान गरि अदालतमा अभियोग–पत्र दर्ता गरेर थुनछेक बहस भएको भेला पनि अदालत परिसर बाहिर प्रदर्शन गरिएको थियो । त्यतिबेला फिँदा पक्षधरको ठूलै समूहले प्रदर्शन गरेको थियो ।
गिरीमाथि जबरजस्ती करणीको अभियोग–पत्र दर्ता भएर बयान हुने क्रममा दुवै पक्षबाट भएको प्रदर्शनले समाजमा नकारात्मक सन्देश जाने जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले बताए । उनले भने, ‘यसरी प्रदर्शन गर्नु राम्रो होइन, यस्तो गर्दा मुद्दामा प्रेसर दिनुपर्छ भन्ने परिपार्टी बढेर जान्छ ।’