इटहरीःआफ्नै एक अनुयायी साधिकालाई बलात्कार गरेको अभियोगमा मुद्धामा अदालत पेश गरिएका आफुलाई सिद्धबाबा भनिने कृष्णबहादुर गिरी(कृष्णदास)को थुनछेक बहस आजबाट सुरु हुदैछ । आज बिहान १० बजे अदालत खुल्नसाथ थुनछेक बहस सुरु हुने छ । सुक्रबार जिल्ला अदालत सुनसरी पेश गरिएका कृष्णदाससंग अदालतले बयान लिने काम गरेको थियो । बयान लिदा लिदै कार्यालय समय सकिएपछि अदालतले यो मुद्धालाई हेर्दा हेर्दैमा राखेको थियो । सुक्रवार एक नम्बर इजालासका न्यायधिश राधाकृष्ण उप्रेतीले कृष्णदासको बयान लिएका थिए । कृष्णदासले मुद्धा दर्तापछि फिर्ता लिनका लागि गरेको फोनको अडियो रेकर्ड सुन्ने काम भएको थियो । जहाँ कृष्णदासले बलात्कार गरेको स्वीकार गर्दै आफ्नो लिंग काटेर फ्याक्ने बताएका छन् ।
आजबाट सुरु हुने थुनछेक बहसमा कृष्णदासबाट पिडित भएकी महिलाको पक्षबाट ६ जना सरकारी वकिल र २ जना नीजि वकिल सहित ८ जनाले बहस गर्ने छन् । कृष्णदासका पक्षबाट ५ जना वकिलले बहस गर्ने छन् । जिल्ला अदालत श्रोतका अनुसार आज दिनभरी नै कृष्णदास प्रकरण मुद्धामा बहस हुने छ । दुवै तर्फबाटका वकिलहरुको बहस आज नसकिए भोलि(सोमबार)लाई बहस हुने छ । संभवत सोमबार या मंगलवारभित्रमा कृष्णदास प्रकरण मुद्धामा जिल्ला अदालतले प्रारम्भिक सुनुवाई गर्ने छ ।
कृष्णदास प्रकरण मुद्धामा जिल्ला अदालत सुनसरीले सुक्रबार बयान लिएसंगै उनले आश्रममा बस्ने उनका अन्य साधक अनुयायी महिलाहरुलाई समेत मोबाइलबाट म्यासेज पठाएर रातको समयमा यौन प्रस्ताव राखेको प्रमाणहरु समेत बाहिर आएको छ ।

प्रहरी नियन्त्रणमा रहेको गिरीले आश्रममा बस्ने महिलाहरुलाई ‘टेक्सट म्यासेज’ गदै यौनको प्रस्ताव राख्ने गरेका हुन् । उनले बोक्ने ९८५२०२५८८५ नम्बरबाट आश्रमभित्रै रहेका केहीलाई म्यासेज गरी सुत्न बोलाएका थिए । प्रहरी र सरकारी वकिलले गरेको घटनाको अनुसन्धान ‘मिसिल’ फायलमा प्रहरीले निकालेको सिडिआर रिर्पोटमा देखिएका म्यासेजहरुले यो कुराको पुष्टि गरेको हो ।

१८ र १९ अक्टोबर २०१९ मा सिद्धबाबाले आश्रममा बस्दै आएकी एक महिला अनुयायीले प्रयोग गर्ने एनसेल मोबाइलमा ‘नानु आउ नुःनु गरौन, नानी काली भुण्टी आउ नुनु गरौ’ लेखिएको म्यासेज पठाइएको छ । जुन म्यासेजलाई समेत सरकारी वकिलले अदालतमा बुझाएको मिशिलमा राखिएको छ ।

आफूलाई जगतगुर बताउने गिरीले ६ महिना अघि त्रिदण्ड धारण गरेका थिए । हिन्दु संस्कारमा त्रिदण्ड प्रतिको उच्च सम्मान छ । त्रिदण्ड धारण गरेको व्यक्तीले स्त्री, आगो र पैसादेखि टाढै बस्नुपर्ने मान्यता छ ।

यधपि सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आफूले कहिलै मोबाइल नबोक्ने बयान दिएका छन् । उनले आफ्नो फोन र सामाजिक सञ्जाल सहयोगीहरूले चलाउने गरेको भन्दै कसैलाई फोन र म्यासेज नगरेको बताएका छन् ।

गिरीले आफू त्रिदण्ड धारण गरेको ब्रम्हचारी भएकाले महिलालाइ समुहमा मात्र भेट दिने गरेको बयान दिएका छन् । आफूलाइ फसाउने सडयन्त्र भएको उल्लेख गर्दै उनले महिलालाइ एक्लै कहिलै नभेटेको दाबि पनि गरेका छन् ।