विराटनगरः प्रदेश नम्बर १ को राजधानी विराटनगरमा पछिल्लो समय मनोरंजन उद्योगमा समेत लगानी बढ्न थालेको छ । औद्यौगिक नगरको रुपमा आफ्नो पहिचान बनाउन सफल विराटनगर सहर चलचित्र तथा मनोरंजन व्यवसायको हबसमेत बन्ने दौडमा छ । पछिल्लो दुई वर्षयता अत्याधुनिक डिजिटल हल निर्माणमा मात्र रु.३८ करोड लगानी थपिएको छ ।
अघिल्लोसाता क्युएफएक्सले विराटनगरमा नयाँ सिनेमा हल संचालनमा ल्याएसंगै डिजिटल सुविधासहितको मिल्प्लेक्स हलको संख्या तीन पुगेको छ । जसमा छवटा पर्दा छन् । यसअघिका दुई सिनेमा हलले यहाँ सेवा दिइरहेका छन् ।
एक औपचारिक कार्यक्रमबीच भाटभटेनी सुपरमार्केटमा सिनेमा क्यूएफएक्स संचनलनमा आएको छ । यसमा रु. १६ करोडको लगानी रहेको बताइएको छ । क्युएफएक्सका सिईओ नगिम उद्धीनका अनुसार यो हल क्यूएफएकसको २७ औं हो । रिगल सिनेमाजको लगानी रहेको यसमा टिम क्वेस्टको व्यवस्था छ । यसमा डेप्थ क्यू थ्रीडी टेक्नोजोलीको प्रयोग गरिएको छ । भाटभटेनीमा दुईवटा स्क्रिन रहेका छन् । यसको सिट क्षमता चार सय २४ रहेको छ । यसमा रिक्लाइनर सिट संख्या २८ छ । यो सिटमा सुतेर सिनेमा हेर्न मिल्छ । भाटभटेनीसंग ठाउँ भाडामा लिएर हल निर्माण गरिएको उद्धीनले सुनाए ।
कम्पनीले सिनेमाको चेनमा मोबाइल एप र लोयल्टी प्रोग्राम गोजी पनि जारी राखेको उद्धीमले जानकारी दिएका छन । उनले भने,‘‘विराटनगर जस्तो ठाउँमा हामी आउन पाउँदा खुसी छौं । यहाँको जनसंख्याअनुसार सिनेमाको दर्शक पर्याप्त भएकोले ठूलो उत्साह पनि छ ।’’ उनले अहलेको पुस्ताले नयाँ प्रविधिलाई अंगीकार गर्ने भएकोले सिनेमा चल्ने संभावना थप बढेको सुनाए ।
कलाकार तथा निर्माता अशोक शर्माले नेपाली सिनेमाहरु गुणस्तरीय बनेसंगै प्रदर्शन हुने थिएटर पनि त्यही गुणस्तरको बन्न थालेको बताउँदै भने,‘‘राम्रा हल बन्न थालेका छन् अब गुणस्तरीय सिनेमा नबनाई निर्मातालाई पनि धर छैन ।’’ उनले नयाँ पुस्ता बाहिर सिनेमा पढेर आउने गर्न थालेको र राम्रा सिनेमा बनाउने क्रम बढ्दा बजारसमेत बढेको बताए ।
क्यूएफएक्सले नेपालभर १२ वटा हल संचालनमा ल्याएको छ । जसमा २७ वटा स्क्रिन रहेका छन् । काठमाडौं बाहिर बिर्तामोड, बुटबल,विराटनगर,नेपालगञ्जमा हल संचालनमा छन । विराटनगरको हलमासमेत डलबी एटम्स साउन्ड सिस्टम जडान गरिएको छ । यसअघिका हिमालय टाकिज र अरुण सिनेमा पनि सिनेमा पनि संचालनमा छन् । क्युएफएक्सले टिकट दर रु दुई सय ५०, तीन सय ५० र ८ सय रुपैयाँ तोकेको छ । टिकट बिहानी शत्रका शोहरुमा भने ५० प्रतिशत छुटमा पाउने व्यवस्था गरिएको छ ।
विराटनगरको सेन्ट्रल मलमा एक वर्षअघि सेन्ट्रल सिनेमा संचालनमा आएको थियो । विराटनगरका औद्योगिक घरानाको लगानी रहेको मलमा सिनेमा हेर्नेसमेत सुविधाको लागि हल निर्माण गरिएको लगानीकर्ता प्रकाश मुन्दडाले बताएका छन् । पूर्णतः वातानुकूलित सिनेमा हलमा २ सय ५० दर्शक अटाउने क्षमता छ । यहाँ दुई पर्दा छन् । यसमा हाटनेस कम्पनीको स्क्रिन, जेबिएल कम्पनीको स्पिकर तथा टुडी र थ्रीडी प्रोजेक्टर रहेको छ ।
फायर अलार्म, अग्नि नियन्त्रक सेट, ठूला लबी, चमेना गृह र प्राथमिक उपचार केन्द्रसमेत छन् । सञ्चालक मुन्दडाले भने,‘‘नेपाली सिनेमाको टिकट दर २ सय ५० तथा भारतीय र अन्य भाषाका सिनेमाको टिकट दर ३ सय ५० देखि ५ सय सम्म राखिएको छ ।’’ वार्षिकोत्सवको सन्दर्भ पारेर सेन्ट्रल सिनेमाले सात दिन रु. एक सयमा टिकट दिईरहेको छ । हलमा बिहान ८, मध्याह्न १२, अपराह्न ३ र साँझ ६ बजेको सो चल्छ ।
यसअिघ विराटनगरमा रु.११ करोड रुपैयाँको लागतमा लागत सिटी सिनेमा संचालनमा अएको थियो । यो हलले नै विराटनगरमा पहिलो पटक अत्याधुनिक डिजिटल प्रविधि भित्र्याएको थियो । लामो सयमपछि आधुनिक सुविधासहित सिटी सिनेमा सांलनमा आएपछि लगागत थप दुई हलले सेवा शुरु गरेका हु न । सिटीको ५ कठ्ठा जमिनको पाँच करोड मूल्यसहित एघार करोड रुपैयाँ लगानी भएको लगानीकर्ताले बताएका छन् । यसमा उद्योगी सुशील रिजाल र सुयष प्याकुरेलले लगानी गरेका हुन । दुई हलमा तीन सय २० जनाले एकै पटक सिेनमा हेर्न मिल्छ । एउटै छातामुनि दुई हल छन । सञ्चालक सुयष प्याकुरेल भन्छन्,‘‘ सुविधाअनुसार पैसा तिरेर सिनेमा हेर्नेहरुको लागि हामीले हल खोलेका हौं । सिटीले आधुनिक उपकरण र जेबिएलसहितको स्पिकर जडान गरेको छ ।
एनईसी टुुके प्रोजेक्टर जडान गरिएको छ । आरामदायी सिट र एसी जडित हलमा सिनेमा हेर्न टिकटको मूल्य तीन सय २०, चार सय ९० र सात ८० रुपैयाँ राखिएको छ । शुक्रबार, शनिबार र आइतबार ३२० रुपैयाँमा विकेन्ड अफर दिएर सिनेमा हेर्ने व्यवस्था गरिएको छ । बिहानीका सोहरुमा छुटको समेत व्यवस्था गरिएको छ ।