इटहरीः इटहरीमा जारी रात्रीकालीन क्रिकेट प्रतियोगितामा शुक्रबार राती सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ । खेलमा आयोजक एरिना च्यालेन्जर्सलाई ४ विकेटले पराजित गर्दै एपीएफ विजयी भएको हो ।

इटहरीस्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एरिना च्यालेन्जर्सले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर ९६ रन बनाएको थियो । उसका लागि अनिष लुइँटेलले नटआउट ४४ रनको योगदान दिए । सुमन पौडेलले १५ रन बनाए । एपीएफका लागि सागर भण्डारीले २ महत्वपूर्ण विकेट लिए । चार ओभर बलिङ गरेका उनले २ मेडनसहित २ रनमात्र खर्चिएर २ विकेट लिन सफल भए । त्यस्तै भुवन कार्कीले २ तथा दीपेन्द्र रावलले १–१ विकेट लिए ।

arena tv add

जवाफमा ९७ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले ४ विकेट गुमाउँदै १२ औँ ओभरमा लक्ष्य भेटाउन सफल भयो । उसका लागि शङ्कर राणाले ४२ रन बनाउँदा प्रज्ज्वल शाहीले १३ र आयुष्मान बलले २० रन बनाए । बलिङतर्फ एरिना च्यालेन्जर्सका संयम पोखरेल, भुपाल लुइँटेल र सुमित तिमल्सिनाले २–२ विकेट लिए । उक्त खेलको म्यान अफ द म्याच विजयी टिम एपीएफका शङ्कर राणा घोषित भए ।

प्रतियोगितामा आज शनिबार राती २ वटा सेमीफाइनल खेल हुनेछन् । पहिलो सेमीफाइनल खेल इनरुवा र नेपाल पुलिस क्लबबीच हुनेछ । यस्तै दोस्रो खेल एपीएफ र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । आइतबार राती हुने फाइनल विजेताले उपाधीसहित नगद १ लाख र उपविजेताले ५० हजार जगद सहित ट्रफी पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका ३ वटा विभागीय टिमसहित ८ टिम सहभागी छन् ।