इटहरीः इटहरीमा जारी रात्रीकालीन क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार राती सम्पन्न खेलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ ।
पुलिसले आयोजक एरिना च्यालेन्जर्सलाई ८८ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ११ रनको विशाल योगफल खडा गरेको थियो । पुलिसका लागि अनिलकुमार साहले ६० बलमा ९५ रनको उत्कृष्ट पारी खेले । दिलीप नाथले २९ बलको सामना गर्दै ४१ रन बनाए ।
बलिङतर्फ एरिना च्यालेन्जर्सका मनिष दाहाल, भुपाल लुइँटेल, जोसेफ खड्का र अनिष लुइँटेलले १–१ विकेट लिए । जवाफमा २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको एरिना च्यालेञ्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २३ रनमा सीमित भएपछि ८८ रनले पराजित भएको हो । एरिना च्यालेञ्जर्सका मनिष दाहालले ७ छक्काको मद्दतमा ५१ रन बनाए पनि अन्य ब्याट्समेनले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
पुलिसका लागि सुनिल धमला र नवीन थापाले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच पुलिसका अनिलकुमार साह भए । प्रतियोगिता अन्तर्गत आजको खेल सशस्त्र प्रहरीको एपिएफविरुद्ध आयोजक एरिना च्यालेन्जर्सबीच हुनेछ ।