इटहरीः यहाँ सञ्चालन भइरहेको रात्रीकालीन क्रिकेट प्रतियोगितामा अन्तर्गत बुधबार राती सम्पन्न खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११ रनले पराजित गरेको छ ।
इटहरीस्थित क्रिकेट रंगशालाको पिचमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रनको योगफल खडा गरेको थियो । पुलिसका लागि अनिल साहले ३३ रन बनाए । दिलिप नाथले २८ बलमा २९ रन बनाउँदा सुनिल धमलाले १७ बलमा २० रन बनाए । बलिङतर्फ एपीएफका यज्ञमान कुमालले २ विकेट लिँदा सागर भण्डारी र दीपेन्द्र रावलले १–१ विकेट लिए ।
जवाफमा १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्यााटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाएपछि नेपाल पुलिस ११ रनले विजयी भएको हो । एपीएफका लागि अरुण ऐरीले सर्वाधिक ३८ रन बनाए । प्रज्ज्वल शाहीले २३ रन बनाउँदा सागर भण्डारीले १७ रनको योगदान दिए । बलिङतर्फ नेपाल पुलिस क्लबका नवीन थापाले २ र योगेन्द्र कार्कीले १ विकेट लिए । खेलको म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका योगेन्द्र कार्की भए ।
प्रतियोगितामा आज आयोजक एरिना च्यालेन्जर्स इटहरी र नेपाल पुलिस क्लब बीच खेल हुनेछ । असार ८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा ३ विभागीय टिमसहित ८ टोली सहभागी छन् ।