प्रकाशपुरः सुनसरीको वराहक्षेत्र–१० मा प्रकाशपुर च्यालेजकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रकाशपुर युवा जमात र सप्तकोशी युवा समूहको संयुक्त आयोजनामा प्रकाश माविको खेल मैदानमा असार १० गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
दोस्रो पटक हुन लागेको प्रतियोगितामा स्थानीय ८ ओटा टिमको सहभागिता रहने प्रकाशपुर युवा जमातका अध्यक्ष तेज गुरुङले जानकारी दिए । आयोजक टिमसँगै चक्रघट्टी, गोधुली क्लब धरान, राष्ट्रिय जागृति क्लब इटहरी, धनकुटा हिले क्लब, इनरुवा फुटबल क्लब, डाँगीहाट मोरङ र बक्लौरी टिम सहभागी हुनेछन् ।
वराहक्षेत्र वार्ड कार्यालयको सहयोगसमेत रहेको प्रतियोगितामा विजेता उपविजेताले ट्रफीसहित क्रमशः १ लाख र ५० हजार पुरस्कार पाउनेछन् ।