धरानः बङ्गलादेशको ढाकामा जुलाइ ३ देखि ५ तारिखसम्म आयोजना हुने तेस्रो साउथ एशियन यु १६ बास्केटबल च्याम्पियनसीपमा नेपालको राष्ट्रिय टोलीको नाम घोषणा भएको छ । उक्त टोलीमा धरानका एक युवा खेलाडी पनि छनोट भएका छन् ।

यु १६ को नेपाली राष्ट्रिय टिममा धरानका वैभव योगी पर्न सफल भएका हुन् । खेलाडी छनोटको लागि धरानबाट ४ जना खेलाडीलाई सुनसरी बास्केटबल सङ्घले सिफारिश गरेको थियो ।

arena tv add

बास्केटबल ट्यालेन्ट हन्ट कार्यक्रमबाट योगेश राई, लाक्पा शेर्पा, वैभव योगी र रुपेश राईलाई छनोट गरी सङ्घले यु १६ छनोटमा पठाएको थियो । तीमध्ये वैभव राष्ट्रिय टिममा पर्न सफल भएको प्रदेश १ का बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए ।

नेपाल बास्केटबल सङ्घले वैकल्पिक ३ खेलाडीसहित मङ्गलबार १५ जनाको नाम घोषणा गरेको छ । छनोट भएका १२ जना खेलाडीमा धरान (सुनसरी) का वैभवसहित सम्कत पुलामी (हुम्ला), क्षितिज थिन्ले (हुम्ला), निराजनकुमार यादव (महोत्तरी), आदर्श बस्नेत (कास्की), सोनाम शेर्पा र कुशल शाक्य (ललितपुर), अंकित मुनिकार र कुङ्गा गुरुङ (काठमाडौं), सागर तामाङ (नुवाकोट), प्रसन्न तामाङ र पेम्बा शेर्पा (सिन्धुपाल्चोक) रहेका छन् । यस्तै, वैकल्पिक खेलाडीमा भविन राई (सुनसरी), स्वरुपराज सेढाईं (चितवन) र रौनक शाह (सिरहा) रहेका छन् ।

राष्ट्रिय टिममा छनोट भएका १२ जनालाई विशेष प्रशिक्षणका लागि शुक्रबारदेखि बन्द प्रशिक्षणमा राखिने नेपाल बास्केटबल सङ्घका महासचिव नरेन्द्र थापाले जानकारी दिए । नेपाली टिम छनोटका लागि सङ्घले काठमाडौंमा भएको यु १६ प्रतियोगिताबाट ५० जना र सुनसरी धरानको बास्केटबल ट्यालेन्ट हन्ट कार्यक्रमबाट ४ जना खेलाडी छनोट गरेको थियो । पहिलो चरणमा ५४ खेलाडीबाट २४ जना, दोस्रो चरणमा २४ जनाबाट १५ जना र तेस्रो चरणमा १५ जनाबाट १२ जना छनोट गरिएको जनाइएको छ ।