‘देख्यौ एक्काइसौं शताब्दीमा पनि जातीयतामा भेदभाव राख्नेहरूको परिणाम ? जातले के नाप्यो, खै ?’ अचानक उनको ओठबाट फुत्केका यी शब्दहरूले विस्मयभाव आँखाभरि भर्दै उनलाई निहार्न पुग्छु म । सधैं सकारात्मक सोच राख्ने उनको मुखबाट निस्केको यो तीतो वाक्य पचाउन हम्मे परेको छ मलाई । केके सोच्दै टोलाउन पुगेछुँ ।
‘के ट्वाल्ल परेर हेरेकी ? जातजात भन्दै ज्यानै अर्पन खोज्नेले पायो स्वाद । लाजै पचाएर बस्न गए त्यहाँ । यस्तो जुनीलाई धिक्कार छ । गर्न पाएँ भनेर कसैलाई गर्न हुन्न अत्याचार । समय त कुमालेको चक्रजस्तै घुमिरहन्छ । चाख्दै होलान् अर्काको अधीनमा बसेर आफ्नो अहम्को स्वाद ।’ एउटा व्यङ्ग्यात्मक मुस्कान ओठभरि पोते उनले ।
उठ्नसम्म रिस उठ्यो मलाई । खरो जवाफ लाऊँ कि जस्तो नलागेको होइन । तर सहिदिएँ, पचाइदिएँ । आफ्नै मनसँग प्रश्न राखेँ, किन मान्छे अर्काको विपत्तिमा खुच्चिङ मच्चाउँछन् ? अहिले उनले मेरी दिदीका लागि मच्चाएको खुच्चिङ जुकासरी टाँसिएको छ मेरो मस्तिष्कमा । जुकाले रगत चुसेसरी मेरो मनको चैन चुसिरहेको छ । अनि उनको मुखबाट छुटेका बिच्छीरूपी शब्दले डसिरहेछ मलाई डाहा हुने गरी ।
‘देशमा जातीय विभेद हटेको वर्षौं भइसक्दा पनि त्यसलाई अँगालेर बस्ने कस्तो मूर्ख तिम्री दिदी ? त्यस्तालाई त कानुन पो लाग्छ । त्यस्ती बाठी तिम्री दिदीलाई थाहा थिएन यो कुरा ? अजात भनेर त्यतिविधि तिरस्कार, अवहेलना र उपेक्षा गरेको मान्छेमाथि आश्रित भएर बस्न जानुभन्दा त डाडुमा पानी तताएर मर्न बेस हुन्थ्यो होइन र ?’ मेरो मनस्थितिदेखि अनभिज्ञ उनी अझै मेरो मनको आगोमा घिउ थप्दै थिए ।
‘खै कुन्नि ! थाहा छैन मलाई । यस्तो जान्नेबुझ्ने मान्छेले दिउँसो किन मेरी दिदीलाई नै यो कुरा नभनेको ? अहिले मलाई व्यङ्ग्य गर्नुहुन्छ । तपाईं जहिले मलाई होच्याउन खोज्नुहुन्छ ।’ मलाई पनि मज्जाले रिस उठ्यो । अब बोलेर कुरा लम्ब्याउन चाहँदैनन् उनी । मलाई थाहा छ ।
म सोच्न बाध्य बन्छु, दिदीले जातपातलाई कठोरतासँग मानेर जघन्य अपराध नै गरेकी हुन् त ? परापूर्वकालदेखि आफ्ना पुर्खाले मान्दै आएको संस्कार रूढीग्रस्त भनेर दिदीले त्याग्न नसक्नुमा उनको के गल्ती ? आफूले गरेको काम शायद दिदीको नजरमा ठीकै होला ।
म छेउमा ढल्केका उनलाई आँखा छड्के बनाएर हेर्छु । मस्त निदाइसकेका छन् । उनका निम्ति एक झोंका रिस बहन्छ मनमा । अरूको निद्रा खोसेर आफू निदाउने । मानवीयता मनभर बोक्ने मान्छेले त यस्तो सोच्दो रहेछ । अरूले त झन् के पो सोच्दा हुन् दिदीको बारेमा ।
समयको यस्तो छाल र विषम परिस्थितिको सामना गर्नुपर्ला भनेर थाहा भएको भए दिदीले किन त्यस्ता पाइला चाल्थिन् होला र ? समयको छालसँग क्रमबद्ध रूपमा हुन पुगेका परिघटनाहरूले मेरी दिदीलाई कस्तो बनायो ? मेरी दिदी स्वाभिमान र आत्मसम्मान नशानशामा भरेर सधैं शिर उच्च पार्थिन् । परिस्थितिले आज मानिसको नजरसँग भाग्न चाहन्छिन्, लुक्न चाहन्छिन् र छल्न चाहन्छिन् । ऊफ् ! दिदीको सम्झनामा व्यथित हुन्छ मन, छटपटाउँछ तन ।
‘के भयो, अझै निदाएकी छैनौ ? सुत । निक्कै अबेला भइसक्यो ।’ उनले फर्केर थपक्क आफ्नो अँगालो बिसाए ममाथि ।
मेरी दिदीका निम्ति यो समय एउटा विडम्बना होइन र ? जीवनमा यी तमाम परिस्थिति भोग्दा कयौं दिन घामको उष्णताले दिदीलाई छोएन होला । कैयौं दिन चन्द्रमाको शीतलता तर्किएको हुन सक्छ उनीसँग । निद्रादेवी र भोकबहादुरले पनि त तर्किएर पिरोल्यो होला नि ! बिचरी दिदी ! मेरो आँखामा दिदीप्रतिको स्नेह नुनिलो आँशु बनेर जम्छ ।
‘उषा ! थाहा छैन विश्वास शब्दको वास्तविक अर्थ के हो र यसको प्रयोग कुन सम्बन्धमा हुन्छ ! ज्वाइँको यो घिनलाग्दो कामले गर्दा तेरो भिनाजुको मुखबाट निस्कने चिसो सुस्केराले मलाई खपिनसक्नु पीडा हुन्छ । जति सुस्केरा छुटे पनि मनको जलन कहाँ कम हुँदो रहेछ र ?’ दिदीको पीडामा दिदीजत्तिकै दुःखी रहेकी म चुपचाप हेरिरहन्छु दिदीलाई ।

‘के गरौँ उषा ! कसरी धान्ने यो सिङ्गो जीवन ? न कुनै व्यापार व्यवसायको निम्ति केही छ हातमा । न मजदुरी गर्न बल छ साथमा । थाहा थिएन जीवनको उत्तराद्र्धमा यस्तो विषम परिस्थितिको सामना गर्नुपर्नेछ भन्ने । थाहा थिएन हामीलाई हाम्रैले डस्नेछन् भन्ने । थाहा थिएन विश्वासभित्र विश्वासघात निम्तिरहेको थियो भन्ने ।’
दिदीको पीडाले लछप्पै भिजेकी मैले कुनै शाब्दिक सहानुभूति दिन सकिनँ । लाग्यो शब्दहरू मेरो गलाबाट कसैले खोसेर लगेको छ ।
अनेकौं लोलोपोतो देखाएर जेठा ज्वाईंले सर्वस्व आफ्नो कब्जामा लिएर दिदीभिनाजुलाई एकदमै खोक्रो बनाए । दिदीले भावविह्वल बन्दै यो व्यथा गाएकी मसँग । अनि म ! म स्तब्ध, अति स्तब्ध बनी मूर्तिझैं बनेकी हुन्छु निकै बेरसम्म । कुन शब्दले सान्त्वना दिने दिदीलाई ? मलाई थाहा छ । व्यक्त गरेभन्दा कयौंगुणा बढी वेदनाका सागर लहराइरहेको छ दिदीको हृदयमा । एउटा पीडाको सुस्केरा म पनि निस्तब्धता भरिएको कोठामा छरिदिन्छु ।
‘उषा ! हाम्रो सिङ्गो जीवन नै दलदलमा भासियो । जहाँ निकासको कुनै उज्यालो छैन । दलदलमा रहेको हिलामा नै जीवनको महत्त्व र अस्तित्व खोज्न बाध्य छौं सायद । लाग्छ, आफ्नै सासले पनि जलन र दिक्दारी बोकेर ओहोरदोहोर गर्दै छ । सबै बिर्सन चाहन्छु । विश्वासघातको चोटले घाइते बनेका जिउँदो लास हामी । बिर्सन चाहेर पनि बिर्सन नसक्दा रहेछौं आफैंलाई । एउटा ठोस कठोर वर्तमान बनिदिँदो रहेछ जीवन । यसरी कति दिन बाँच्नु उषा, खै !’
दिदीका अत्यासलाग्दा कुराले म तर्सन्छु बेस्सरी । दिदीका नैराश्यजनक फुस्रा आँखासँग आँखा खप्ट्याउने हिम्मत भएन ममा । त्यस्ता तेजिला दिदीका आँखामा औंसीको अन्धकार नै भासिएजस्तो अँध्यारो गाडिएको छ ।
‘दिदी ! जुनू र ज्वाइँलाई यो सबै थाहा भयो ?’ अनायासै मेरो मुखबाट फुत्कन्छ नचाहेको प्रश्न ।
प्रश्नसँगै मेरी दिदीको मुहारमा अपराधबोध, पीडाबोध र लज्जाबोधका हाँगाबिँगा पलाउन थाल्छन् । कस्तो लगाम नभएको मुख, आफैंसँग रिस उठ्छ मलाई । बन्दुकबाट छुटेको गोली र मुखबाट फुस्केको बोलीले काम नगरेको कहिले पो छ र ? बिनासित्ती दिदीको व्यथाको पहाडमाथि पीडाको हिमाल थपेकोमा मन थक्कथक्क हुन्छ मेरो ।
‘हेर उषा ! म मरे पनि त्यो सानो जातको केटासँग जुनूको विवाह हुन दिन्नँ । जातित्वलाई म समाजमा बाँच्नको निम्ति महत्वपूर्ण सामाजिक मान्यता मान्छु । समाजमा मुख देखाएर पनि त हिँड्न प¥यो नि !’ मेरी दिदीको कडा स्वभावसँग राम्ररी परिचित छु म । के भन्नु, चुप लागिरहेँ ।
‘अस्ति माग्न आउने केटासँग छिट्टै विवाह गरिदिन्छु । विवाहपछि लोग्ने, घरपरिवार, व्यवहारमा रत्तिएर त्यस्ता विरोधका स्वर कहाँ पुग्छन् थाहै हुँदैन । कहाँ जेठा ज्वाइँ जातका, कुल घरानाका, ठूला व्यापारी, कहाँ जुनूले रोजेको त्यो टुहुरो कङ्गाल मगर, त्योसँग त म दिँदै दिन्नँ ।
दिदीले अस्पतालबाट मुस्किलले छोरी बचाएर ल्याएपछि पनि आफ्नो अडान छोडिनन् । जुनूले आफ्नो इच्छाविरुद्ध विवाहको दबाबमा विष खाएर मर्न चाहेकी थिई ।
दिदीको एकोहोरो जिद्दीबाट निम्तिन सक्ने कुनै अनिष्टको आशङ्कामा छट्पटिन्छु म । मान्छे सबै एकै हुन् भनेर कसले सम्झाउने दिदीलाई ? म त झन् दिदीको रौद्र रूपले हिम्मतै गर्न सक्दिनँ ।
समस्या गहिरिँदै जान्छ इनारजस्तै । विरोधाभासमा नै विद्रोह जन्मन्छ र विस्फोट हुन्छ । कुण्ठा छताछुल्ल भएर पोखिन्छन् । जीवन अप्ठ्यारो मोडमा भीरमा अड्केको ढुङ्गाजस्तै बन्छ । किनकिन मेरो मन यस्तै कुरामा अल्झिरहन्छ ।
‘मेरो नाक काटेर, कुल खानदानको बेइज्जत गरेर मरी त्यही मगरसँग । कुजात ! आकाशले अँगाल्यो कि धरतीले निल्यो कतै भेट्न सकिएन । हाम्रा लागि मरी । त्यसको लागि पनि म¥यौँ,’ यस्तै कठोर शब्द बोल्दाबोल्दै पनि ठूलो भएपछि सन्तानमाथि हक नहुँदो रहेछ भनेर मन दुखाएकी थिइन् दिदीले ।
मैले चाहेर पनि केही भन्न सकिनँ । साँच्चै दिदीले मरेतुल्य नै बनाइन् आफ्नी प्यारी कान्छी छोरीलाई । लामो समयपश्चात् पनि छोरीतिर फर्कने छाँट देखाइनन् ।
मैले त मनमानी गरेर आमाबुबाको मन दुखाएँ, रुवाएँ उहाँहरूलाई । तर दिदी भिनाजु, जसलाई आमाबुबा प्रगाढ विश्वास गर्नुहुन्थ्यो । जो आमाबुबाको निम्ति प्राणभन्दा प्यारो हुनुहुन्थ्यो । उहाँहरूबाट नै आमाबुबालाई त्यत्रो चोट ! त्यत्रो विश्वासघात ?’
जुनू भावुक बनी । घाँटी अवरुद्ध बन्यो उसको । मैले निःशब्द काँध मुसारेँ । मेरो हात च्याप्प समातेर भनी, ‘सानिमा ! म त सोच्थेँ दिदीले मेरै इखले आमाबुबालाई राम्रोसँग हेर्नेछिन्, स्याहार्ने छिन् । तर खै त ? उसले त्यस्तो मूर्ख काम गरे पनि म छु नि । आमाबुबाको निम्ति ज्वाइँ हुनुहुन्छ । हामी लिन्छौँ आमाबुबा पाल्ने जिम्मा’, आँखाभरि विश्वास ओराल्दै पुलुक्क ज्वाइँतर्फ हेर्छे जुनू ।
म देख्छु ज्वाइँको नजरमा जुनूको विश्वासप्रति झल्केको गर्व । मन पुलकित बन्छ मेरो । हृदयभरि आशीर्वाद दिन्छु दुवैलाई । शब्द भावुकतामा गाँठो पर्छ ।
जुनूले आफूमाथि भएको मानसिक यातना सरक्क बिर्सी । मरी भनेर गरेको काजक्रिया र तिरस्कार पनि चटक्कै बिर्सी । ऊ विनाद्वेष अघि बढी सन्तान हुनुको कर्तव्य र दायित्व निर्वाह गर्न । कस्ती असल नैतिकवान् छोरी, कति फरक एकै कोखामा वास बसेका दिदीबहिनीमा ।
हुन पनि अजात र कङ्गाल भनेर गर्नै नहुने क्षुद्र व्यवहार गरेकी थिइन् दिदीले छोरीमाथि । सम्झाउनेहरूको बाढीले पनि मेरी दिदीको मनमा जमेको कलुषित भावलाई रत्तिभर बगाउन सकेन । दिदीको मनमा सन्तानले गुहु खायो भन्ने खिल रहिरह्यो सधैंँ ।
कान्छी छोरीको रिसले जेठी छोरीज्वाइँमाथि अन्धो रूपले माया खन्याए । अन्धो रूपले नै विश्वास गरे । त्यही मौकाको नराम्रोसँग फाइदा उठाए ज्वाइँंले । छोरी चुप रही । निर्विकार, नाङ्गो बनाइदिए । पाइपाइको निम्ति आश्रित बनाइदिए ।
कान्छी छोरीज्वाइँको ठूलो प्रयासपछि मात्र दिदी सँगै बस्न मानेकी हुन् । समय घुम्दो रहेछ कोल्टो फेरेर । जब जीवन दिशाहीन र गन्तव्यहीन बन्न पुग्छ ऊ निश्चित दिशा भेट्न असमर्थ हुन्छ । त्यसबेला मानिस लाचार भएर समयको हुरीले जहाँ पछार्छ त्यहीँ आश्रित हुन बाध्य हुन्छ । समयलाई मात्र भोग्न सकिने, कुदेको देख्न नसकिने, बलवान् छ समय । मोड, कुइनेटो र घुम्तीहरूमा अप्ठ्यारा बोकेर विराजमान छ समय ।
आज दिउँसो त हो । म उनीसँग गएर दिदीभिनाजुलाई जुनू कहाँ पु¥याएर आएकी । दिदीले रोजेको÷ खोजेको जीवन त्यो थिएन । कति निर्धोपना थियो दिदीको आँखामा । उनी यसरी अँध्यारिएकी थिइन् कि लाग्थ्यो, उनीभित्रको अँध्यारोपन जगतलाई नै अँध्यारो बनाउन काफी छ । टाढाटाढा क्षितिजलाई हेर्दै विगतका आफ्ना व्यवहार चलचित्रका दृश्यजस्तै छाउँदो हो दिदीका आँखामा ।
भिनाजु पनि अरूको इशारामा चल्ने यन्त्रमानव जस्ता बनेका छन् । उनीहरू भित्र अपराधबोध, पीडाबोध र लज्जाबोधका लाभाहरू कति हलचल गरिरहेका होलान् । उनीहरूको लाचारीपन र विवशताले मेरो मुटु चस्काइचस्काइ मलाई मर्माहत बनाएको छ ।
अहिले उनले दिएको उपहासमिश्रित व्यङ्ग्यले मलाई दिउँसोभन्दा बढी चोट दिएको छ र म सोच्न बाध्य भएकी छु । जातीय अहमपन, अन्धविश्वास र तृष्णा बेकार हो । मान्छेभित्रको कोमल मन, स्वच्छ दृष्टिकोण र मानवीय नैतिक मूल्यमान्यता भरिएको व्यवहार । हो !
स्वस्थ समाज निर्माणको निम्ति यही चाहिन्छ । दिदीलाई जातको ज्वाइँले दिएको चोटमा अजातका ज्वाइँले मलम लगाइदिए । जातका ज्वाइँले गरेका विश्वासघातलाई अजातका ज्वाइँले उच्च मानवीय संवेगात्मक गुणले सुम्सम्याए ।
हो, आज मेरी दिदी आफूले जातपातमा गरेको भेदभावले चाख्नु परेका चोटका फलहरू पश्चातापका साथ चाख्दैछिन् । समयको छालसँग बग्दैछिन् ।