धरानः धरानका सञ्चारकर्मी दिलबहादुर राईमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल पत्रकार महासङ्घ सुनसरीले प्रहरीलाई आग्रह गरेको छ ।
बुधबार आक्रमणकारीविरुद्ध जाहेरी दिन इलाका प्रहरी कार्यालय धरानमा उपस्थित पत्रकार महासङ्घको टोलीले आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरेको हो । मङ्गलबार राती पत्रकार राईमाथि कार्यालयमै आएर एउटा समूहले आक्रमण गरेको थियो । उनको टाउकोमा ६ टाँका लगाइएको छ । उनी डीबीआर अनलाइन टीभी च्यानलका सञ्चालक हुन् ।
प्रहरीले उनलाई आक्रमण गर्नेमध्येका एक जनालाई पक्राउ गरेको छ । उनलाई १७ वर्षीय फुर्वा शेर्पासहितले टाउकोमा ढुङ्गा प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार पक्राउ परेकासँग बयान लिँदा आफ्नो साथी छिरेजस्तो लागेर आफू पनि पसेको र विवाद भएपछि ढुङ्गा टिपेर हानेको बताएका छन् ।
घाइते सञ्चारकर्मी राईले अभद्र व्यवहारको मुद्दामा जाहेरी दिएको र सुरक्षाको माग पनि गरेकाले सोही अनुसार व्यवस्था गर्ने डीएसपी न्यौपानेले बताए ।