इलामः नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराई र नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफूहरू युवा नेता नभएको बताए । आइतबार इलामको देउमाई नगरपालिकामा देउमाई साहित्य तथा पर्यटन महोत्सवको सेसनमा बोल्दै उनीहरूले यस्तो बताएका हुन ।
भिन्न विचारका व्यक्तित्व भट्टराई र पौडेललाई कठघरामा उभ्याउने क्रममा पत्रकार वसन्त बस्नेतले युवा र अबको नेतृत्व विषयमा नेता द्वयको धारण खोतलेका थिए । दुवै नेताले उमेरको हिसाब गर्ने हो भने आफू युवा नेता नरहेको विचार राखे ।

नेपाली राजनीतिमा आसलाग्दा नेताका रूपमा रहेका उनहिरुले पार्टी भित्र युवा नेतृत्व हाबी गर्नका लागि प्रतिस्पर्धा गरेर नै युवाहरू अघि बढ्नु पर्ने धारणा राखे । काम गर्ने परिपक्वता र नयाँ सोचको नेतृत्वले समाज विकास हुन सक्ने उनीहरूको तर्क थियो । नेपाली राजनीतिमा उमेर हेर्ने परिपाटी रहेकाले त्यसको अन्त्य आवश्यक रहेको जिकिर उनीहरूले गरे । फरक विचारधाराका नेता भए पनि उनीहरूको एकै प्रकृतिको रहेको थियो ।
चुनाव जितेर नेतृत्व खोस्नु पर्ने भट्टराईले बताए । उनले भने, ‘३५ वर्षको उमेरका व्यक्ति प्रधानमन्त्री हुँदा गतिलो काम गर्छ भन्ने ग्यारेन्टी हुँदैन ।’

काँग्रेस नेता पौडेलले राजनीतिले समृद्धि र रचनात्मकता खोजेको भन्दै नेता पौडेलले सामाजिक मुद्दालाई उठाउन सक्ने व्यक्ति नेतृत्वमा आउन आवश्यक रहेको तर्क गरे । पछिल्लो समय राजनीतिले त्यसप्रकारको मुद्दा उठाउन नसकिएको स्विकारे ।

Yogesh and Pradeep Paudel pradeshportal.com

महिलाले सामान्य विषयवस्तु हैन क्षमता अभिवृद्धिमा लाग्नुपर्छः कुन्ता शर्मा

आइतबार नै भएको सेसनमा सार्वजनिक जीवनमा महिला कति सकस कति सुविधा विषयको बहसले पनि उपस्थितको ध्यान तान्यो । साहित्यकार कुन्ता शर्माले निर्णय गर्ने स्थानमा महिला पुग्नु पर्ने आवश्यकता रहेको बताइन् । बहसकर्ता सीमा आभासले महिलाले स्वयम् अभिभावक बन्न नपाइरहेको गुनासो गरिन् । पढ्ने, जागिर खाने र चेतना विस्तार गर्नु पर्ने उमेरमा छोरीको विवाह हुने र पारिवारिक बन्धनमा पर्ने गरेकाले महिला पछि पर्ने गरेको यथार्थ सुनाइन् ।

विवाहकै सन्दर्भमा धारण राख्दै आभासले केटा बिग्रिए भने विवाह गर्नु पर्छ भन्ने मान्यता राख्ने नेपाली समाजको स्तरोन्नति जटिल समस्या बन्दै गएको बताइन् । क्षमता भएका महिलालाई आरक्षण र कम क्षमता भएका पुरुषलाई जिम्मेवारी दिइने नेपाली परम्पराले महिला पछि परेको आभासले सुनाइन् । शारीरिक रूपमा समेत पुरुष भन्दा महिला शक्तिशाली रहेको धारण शर्मा र आभासको थियो ।
शर्माले स्थानीय तहदेखि केन्द्रीय तहसम्म हेर्ने हो भने महिलालाई नेतृत्व गर्ने जिम्मेवारी नदिइरहेको तर्क गरिन् । सामान्य विषयवस्तुमा अल्मलिने भन्दा पनि क्षमता अभिवृद्धिमा महिला लाग्नु पर्ने शर्माले बताइन् ।

१० वर्षपछिको इलामको देउमाइको बहस

देउमाई नगरपालिका अबको १० वर्षपछि कस्तो हुने भन्ने विषयमा पनि बहस भयो । प्रदेश सभासद् राम राना र देउमाइ नगरपालिका प्रमुख सूर्य पोखरेलले चेतनास्तर विस्तार भएसँगै सामाजिक आर्थिक उन्नतिको विस्तारसमेत भएको बताए । पूर्वाधार र सामाजिक संसाधन विकासको पाटोलाई महत्त्व दिएकाले समृद्ध देउमाईको कल्पना गर्न सकिने उनीहरूको साझा बुझाई थियो । पछिल्लो समय बेरोजगारी र वैदेशिक रोजगारी बढेकाले युवा माथि अन्याय भएको भन्ने प्रश्नमा प्रदेशसभा सदस्य रानाले प्रदेश सरकारले आन्तरिक रोजगारका लागि योजना बनाएर अघि बढेको तर्क गरे । उक्त सेसनको सञ्चालन गजेन्द्र कटुवालले गरेका थिए ।

संघर्षको कथामा दयाहाङ राई र राजु पिठाकोटे

त्यस्तै संघर्षको कथामा दयाहाङ राई र राजु पिठाकोटे सम्मिलित भए । राई र पिठाकोटेलाई एपीवान टेलिभिजनका प्रधानसम्पादक टिकाराम यात्रीले आफ्नो जीवनको भोगाइ र जीवनको धारण विषयमा प्रश्न गरे ।

इलाम घुम्ने बहस

इलाम किन घुम्ने विषयको बहस गर्दै केशव धौराली र धर्म गौतमले इलाम घुम्नु पर्ने आधार प्रस्तुत गरे । उक्त सेसनको सञ्चालन पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निस्टुरीले गरेका थिए । महोत्सवमा कुवेर राई, देवी गौतम, कोपिला गौतम, राजेश चाम्लिङ राईलगायत कलाकारको उपस्थितमा सांस्कृतिक कार्यक्रम समेत भएको छ । लोकदोहोरी महोत्सवको आकर्षण बनेको आयोजक समाजकालागि युवा नामक संस्थाका अध्यक्ष मोती गौतमले बताए ।