झापाः इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नयाँ भवन बन्ने भएको छ । १ नम्बर प्रदेश सरकारको ३ करोड ६२ लाख ४५ हजार ४ सय ५ रुपैयाँको लागतमा नयाँ भवन निर्माण हुने भएपछि ४० वर्षअघि निर्माण भएको पुरानो भवन भत्काइने भएको छ ।

२२ कोठा हुने अढाइ तले पक्की भवनको आज १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले एक समारोहका बीच शिलान्यास गरे । महिला तथा पुरुषका लागि हिरासत, स्नान गृह तथा शौचालयसहित अत्याधुनिक भवनको निर्माण कार्य १ वर्षमा सम्पन्न गरिने योजना छ ।

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्रदेश सरकार गठन भएको १ वर्षको अवधिमा सरकारले विविध कारणले जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रष्ट पारेका थिए । उनले पर्याप्त ऐन कानुनकै अभावमा सरकार अलमलिइरहेको पनि बताए ।

‘अपराधी नयाँनयाँ प्रविधि र स्रोत साधन प्रयोग गरेर अपराधमा संलग्न हुन्छन्,’ मन्त्री कार्कीले भने, ‘तर, प्रहरीसँग पुरानै स्रोत साधन छन् । यसकारण पनि अब हरेक सुरक्षा निकायलाई अत्याधुनिक प्रविधि मैत्री र समयअनुसारको सङ्गठन बनाउनुपर्छ । १ नम्बर प्रदेश सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दैछ ।’

अहिले सरकारले हरेक सुरक्षा निकायमा आबद्ध सुरक्षाकर्मीलाई पर्याप्त सेवा सुविधा दिन नसकेको स्वीकार गर्दै मन्त्री कार्कीले केही समयभित्र सेवा सुविधा वृद्धि गरेर हरेक सुरक्षा निकायलाई बलियो र मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सुरक्षाकर्मीलाई आत्मबल बलियो बनाएर उच्च मनोबलका साथ काम गर्न निर्देशन समेत दिए ।

सुरक्षाकर्मीको सुविधा बढाउने
अब चाँडै सुरक्षा निकाय र राष्ट्र सेवक कर्मचारीको सेवा सुविधा वृद्धि हुने पनि उनले बताए । ‘एक जना नेपालीका कारण देशले दुःख पाउनु हुँदैन,’ उनले भने, ‘हरेक जनताको जीउधनको सुरक्षा स्थानीय प्रशासनले लिनुपर्छ । आफ्नो कर्मक्षेत्रमा सक्रिय जो कोहीले पनि आफ्ना सेवाग्राही र नेपाल भित्रिने पर्यटकप्रति मुस्कानसहितको सेवा प्रदान गर्नुपर्छ, खुला दिलले स्वागत गर्नुपर्छ ।’

१ नम्बर प्रदेश सरकारले २ वटा ट्राफिक प्रहरी कार्यालयसहित चालु आर्थिक वर्षमा २०७४÷०७५ मा ५३ वटा कार्यालय निर्माणका लागि बजेट विनियोजन गरेको पनि उनले जानकारी दिए । त्यस्तै, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा ३७ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट निर्माण गर्ने, अत्याधुनिक र सुविधा सम्पन्न सवारी साधन प्रदान गर्ने पनि उनले बताए ।
मन्त्री कार्कीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई हतियार राखेर सहमति र वार्ताका लागि आउन आग्रह गरे । सरकारले पटकपटक वार्ताका लागि आह्वान गर्दा सम्म विप्लव समूहले हत्या हिंसा रोजेका कारण सरकारले उसको गतिविधिमा प्रतिबन्ध लगाएको मन्त्री कार्कीको भनाइ थियो । उनले विप्लव समूहलाई हतियार बिसाएर राजनीतिको मूल प्रवाहमा आउन आग्रह गरे ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले अब नेपाल प्रहरीको सङ्गठनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । अपराध नियन्त्रणमा प्रविधिका कारण धेरै सफलता हात परेको प्रसङ्ग निकाल्दै उनले हरेक प्रहरी कार्यालयलाई प्रविधिमैत्री बनाउन सके सीमित स्रोत साधन र जनशक्तिले धेरै काम गर्ने विश्वास दिलाए ।

कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, जिल्ला प्रशासन कार्यालय झापाका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेललगायतले आफ्ना धारणा राखेका थिए ।