ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवास्थित बुङ्कुलुङका दलबहादुर गुरुङको आफ्नै छोराको कुटपिटबाट ज्यान गएको छ ।

३२ वर्षीय माइला छोरा गजेन्द्र गुरुङको कुटपिटपछि उपचारका लागि झापातर्फ लैजाने क्रममा इलामको फिक्कलमा पुग्दा उनको मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गजेन्द्रले गत शनिबार घरायसी विवाद हुँदा भान्साघर भित्रै कुटपिट गरी धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका थिए । घटनापछि फरार रहेका गजेन्द्रलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले बताए । मृतकको शव सोमबार जिल्ला अस्पताल ताप्लेजुङमा पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।