इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ शङ्कास्पद अवस्थामा रहेका तीन जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ००३० नम्बरको यात्रुवाहक सिटी सफारीमा सवार उनीहरूमाथि शङ्का लागेपछि खानतलासी गरिएको थियो। सो क्रममा उनीहरूले बोकी ल्याएको प्लास्टिकको झोलामा लुकाइछिपाइ राखेको ९.५७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१२ का ३५ वर्षीय रविन चौधरी, रामधुनी नगरपालिका–७ का ३० वर्षीय ताजिन चौधरी र इटहरी उपमहानगरपालिका–८ का १९ वर्षीय लम्बु भनिने साहादिन हुसेन रहेका छन्।
उनीहरूलाई बरामद पदार्थसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।




















