इटहरीः  सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनबाट प्रहरीले कटुवा पेस्तोल र गोली बरामद गरेको छ।


जिल्ला प्रहरी कार्यालय सुनसरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज ३१ गते दिउँसो ३ः३० बजेको समयमा सामुदायिक वनमा हातहतियार लुकाइछिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो।


जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरी र प्रहरी चौकी भौरीको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सामुदायिक वनमा रहेको पिठारीको रुखको फेदको झाडीमा लुकाइराखिएको अवस्थामा कटुवा पेस्तोल एक थान र गोली राउन्ड एक थान फेला पारेको प्रहरीले जनाएको छ।

WhatsApp Image 2026-10-17 at 21.16.39


बरामद गरिएका हातहतियार तथा गोली आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


तर, उक्त हातहतियार कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले खुलाएको छैन। घटनाबारे थप अनुसन्धानपछि मात्रै यससम्बन्धी विवरण स्पष्ट हुने अपेक्षा गरिएको छ।