ताप्लेजुङः  ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रको लोनाक खोलामा काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउमा सहज भएको छ । कञ्चनजङ्घा पदमार्गअन्तर्गत लोनाक खोलामा अस्थायी काठेपुल निर्माण गरिएपछि पर्यटकलाई आउजाउ गर्नमा सहज भएको हो ।


कञ्चनजङ्घा आधार शिविर लोनाकनजिक चार हजार ७८० मिटर उचाइ रहेको स्थानमा उक्त काठेपुल निर्माण गरिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अगुवाइमा काठेपुल निर्माण भएको पर्यटन व्यवसायी तेन्जिङसेराप शेर्पाले जानकारी दिए ।


फक्ताङ्लुङ गाउँपालिकाका कार्यपालिका सदस्यसमेत रहनुभएका शेर्पाका अनुसार कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटकको सुविधाका लागि उक्त काठेपुल निर्माण गरिएको हो । पुल निर्माणमा स्थानीयले श्रमदानसमेत गरेका उनले बताए । काठेपुल निर्माण सम्पन्न भएसँगै बुधबारदेखि सञ्चालनमा आएको पनि उनले जानकारी दिए ।


यता पर्यटकीय मौसम सुरु भइसकेको समयमा काठेपुल निर्माण गरिएपछि पर्यटकलाई सहज भएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । उक्त काठेपुल निर्माण भएपछि पर्यटकलाई पदयात्रा साथै याक, खच्चर हिडाउनलाई समेत सहज भएको बताइएको छ ।


पर्यटन व्यवसायी शेर्पाका अनुसार पर्यटकीय याम सुरु भएकाले पर्यटकहरु पनि फाट्टफुट्ट आउन थालेका छन् । अहिले फ्रान्स, जर्मन, बेलायत, चीन लगायतका देशबाट विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमण आउन थालेका उनले जानकारी दिए ।