इटहरीः नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा इटहरी निवासी केन्द्रीय सदस्य राजीव ढुङ्गाना सह -महामन्त्री पदमा पराजित भएका छन्। सहमहामन्त्रीको खुला प्रतिस्पर्धामा उम्मेदवारी दिएका ढुङ्गाना १ हजार १८२ मतसहित पाँचौँ स्थानमा सीमित भएका हुन्।
१५ औं महाधिवेशनमा उम्मेदवारी दिएका ढुङ्गानाले सह-महामन्त्री पदमा प्रतिस्पर्धा गरे पनि अपेक्षित मत प्राप्त गर्न सकेनन्। खुला सह-महामन्त्रीका दुई पदका लागि भएको प्रतिस्पर्धामा रामहरि खतिवडा र अजय सिंहकोटी विजयी भएका छन्।
अन्तिम निर्वाचन परिणामअनुसार खतिवडाले २ हजार ७८८ मत प्राप्त गर्दै पहिलो स्थानमा विजयी भए भने सिंहकोटीले २ हजार ७२ मतसहित दोस्रो स्थान हासिल गरे। कोशी प्रदेशबाट नेतृत्व गर्ने नेताका रूपमा रहेका खतिवडाको जितसँगै ढुङ्गानाको पराजयले इटहरीको कांग्रेस राजनीतिमा समेत चासो बढाएको छ।

खुला सहमहामन्त्री पदमा नौ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। प्राप्त मतपरिणामअनुसार दिलीपकुमार स्मेदीले १ हजार ७५९, तेगेन्द्रराज खनालले १ हजार २९९ र राजीव ढुङ्गानाले १ हजार १८२ मत प्राप्त गरेका छन्। त्यस्तै विकास कोइरालाले १ हजार ८८, अमृतकुमार अर्यालले ९९९, रमेशप्रसाद धमलाले ७८१ र विमलराज क्षेत्रीले २७५ मत प्राप्त गरेको विवरण छ।
देउवा निकटबाट गगन समूहसम्मको राजनीतिक यात्रा
इटहरी निवासी ढुङ्गाना नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत हुन्। उनी विगतमा शेरबहादुर देउवा निकट नेताका रूपमा चिनिँदै आएका थिए। देउवाबाट मनोनित भएपछि उनी विद्यार्थी संगठनको राजनीतिमा सक्रिय भएका थिए।
यसअघि संसदीय निर्वाचनमा उम्मेदवार बन्ने चर्चा चले पनि उनले टिकट पाउन सकेका थिएनन्। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहस र नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्दा उनी पछिल्लो समयमा गगन थापा नेतृत्वको समूहमा जोडिएका थिए।
गगन थापा नेतृत्वको समूहमा प्रवेशपछि ढुङ्गानाले कार्यसम्पादन समितिमा जिम्मेवारी पाउनुका साथै केन्द्रीय सदस्यको भूमिकासमेत निर्वाह गरेका थिए। त्यसपछि १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएर पार्टीको केन्द्रीय नेतृत्वमा थप प्रभाव विस्तार गर्ने प्रयास गरेका थिए।
तर, निर्वाचन परिणामले उनको प्रयास सफल हुन सकेन। खुला सहमहामन्त्रीका दुई पदका लागि भएको प्रतिस्पर्धामा पाँचौँ स्थानमा सीमित भएपछि ढुङ्गानाको राजनीतिक यात्रामा यो परिणामलाई एउटा महत्त्वपूर्ण धक्काका रूपमा हेरिएको छ।
इटहरीमा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएका ढुङ्गानाको पराजयले पार्टीभित्रको बदलिँदो शक्ति समीकरण र नेताहरूको प्रभावबारे पनि प्रश्न उठाएको छ। यद्यपि, उनको पराजयको कारणबारे भने निर्वाचन परिणामका आधारमा मात्रै निष्कर्ष निकाल्न सकिँदैन।




















