‘एक व्यक्ति, एक पद’को अवधारणा कहाँ गयो ? मन्त्रीको स्वकीय सचिवबाट महामन्त्री बनेका कटुवालमाथि प्रश्न, नेताहरू पनि मौन
इटहरीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थानीय निर्वाचन केन्द्रित ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत आइतबार इटहरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा पार्टीका कोशी प्रदेश महामन्त्री निरज कटुवालमाथि प्रश्नैप्रश्न उठेका छन्। पार्टीका पूर्व नगर सदस्य तुलसी चौलागाईंले कटुवालको विगतको जिम्मेवारी, वर्तमान भूमिकासहित इटहरीमा पार्टी संगठन कमजोर बनेको विषयलाई लिएर प्रश्न उठाएका हुन्।
कार्यक्रममा रास्वपाका सांसदहरु रहबर अन्सारी, गणेश पौडेल,सुर्यबहादुर तामाङ , जिल्ला सभापति सागर दाहाल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो। स्थानीय निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र चुनावी तयारीका विषयमा केन्द्रित कार्यक्रममा चौलागाईंले प्रदेश महामन्त्री कटुवाललाई पार्टीको ‘एक व्यक्ति, एक पद’को अवधारणा, स्वास्थ्य मन्त्रीको स्वकीय सचिवको जिम्मेवारी र इटहरीको संगठनात्मक अवस्थाबारे प्रश्न गरेका थिए।

चौलागाईंले प्रश्न राख्ने क्रममा कटुवाल एकाएक सभाहलबाट बाहिरिएका थिए। चौलागाईंले उठाएका प्रश्नको जवाफ मञ्चमा आसिन सांसद तथा अन्य नेताहरूले पनि दिन चाहेनन्। यसले कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्तामाझ प्रश्नको जवाफ नआएको विषयलाई थप चर्चामा ल्याएको थियो।
‘एक व्यक्ति, एक पद’को अवधारणा कहाँ गयो ?
चौलागाईंले कटुवालको राजनीतिक जिम्मेवारी र स्वास्थ्य मन्त्री निशा मेहताको स्वकीय सचिवका रूपमा काम गरेको विषयलाई जोड्दै पार्टीको ‘एक व्यक्ति, एक पद’को अवधारणा व्यवहारमा लागू भएको छ कि छैन भन्ने प्रश्न उठाएका थिए।
उनले प्रदेश अधिवेशनअघि कटुवाल स्वास्थ्य मन्त्री निशा मेहताको स्वकीय सचिव नियुक्त भएको, त्यसपछि राजीनामा दिएर प्रदेश महामन्त्री पदमा उम्मेदवारी दिन आएको र अहिले पुनः मन्त्रीकै स्वकीय सचिवका रूपमा रहेको भन्ने चर्चा सुनिएको उल्लेख गर्दै यसको स्पष्ट जवाफ मागेका थिए।
‘प्रदेश अधिवेशनअघि तपाईं माननीय निशा मेहता स्वास्थ्य मन्त्रीको स्वकीय सचिव नियुक्त हुनुभयो। पछि राजीनामा दिएर महामन्त्रीमा उठ्न आउनुभयो। अहिले फेरि मन्त्रीकै स्वकीय सचिव हुनुहुन्छ भन्ने हल्ला छ,’ चौलागाईंको प्रश्न थियो, ‘एक व्यक्ति, एक पद हाम्रो पार्टीको अवधारणासँग यो विषय मेल खान्छ कि खाँदैन ?’

उनले स्वकीय सचिवको जिम्मेवारी र पार्टीको प्रदेश महामन्त्रीको जिम्मेवारी एकै व्यक्तिले सम्हाल्ने अवस्थाबारे स्पष्ट पार्नसमेत आग्रह गरेका थिए। यद्यपि, मन्त्रीको स्वकीय सचिवका रूपमा कटुवालको वर्तमान जिम्मेवारीबारे उठेको विषय कार्यक्रममा प्रश्नकर्ताले व्यक्त गरेको दाबी तथा चर्चाका रूपमा आएको हो। यसबारे कटुवालको आधिकारिक धारणा सार्वजनिक भएको जानकारी प्राप्त भएको छैन।
१३७ स्थानीय तहमा जित्ने संगठन बनाउने जिम्मेवारी कहाँ पुग्यो ?
चौलागाईंले कोशी प्रदेशमा पार्टी संगठन निर्माणको जिम्मेवारीसमेत कटुवाललाई स्मरण गराएका थिए। आगामी स्थानीय निर्वाचनमा प्रदेशका १३७ स्थानीय तहका प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षका उम्मेदवारलाई जिताउन आवश्यक संगठन निर्माण गर्नुपर्ने जिम्मेवारी प्रदेश महामन्त्रीको रहेको उनको भनाइ थियो।
उनले प्रदेश महामन्त्रीको मुख्य जिम्मेवारी संगठन विस्तार, कार्यकर्ता परिचालन र स्थानीय निर्वाचनको तयारी हुनुपर्नेमा त्यसबाट ध्यान अन्यत्र गएको हो कि भन्ने प्रश्न गरेका थिए।
चौलागाईंले प्रदेश सरकारको दलको नेता वा मुख्यमन्त्रीसम्मको जिम्मेवारी सम्हाल्न सक्ने सम्भावना बोकेका नेताले संगठन निर्माणलाई प्राथमिकता दिनुपर्ने आशय व्यक्त गर्दै कटुवालमाथि प्रश्न उठाएका थिए।
उनको प्रश्नको मूल आशय पार्टीभित्र जिम्मेवारी बाँडफाँट, पदको मर्यादा र संगठन निर्माणप्रतिको जवाफदेहिताबारे स्पष्टता खोज्नु थियो।
इटहरीको मेयर उम्मेदवार बनाउने तयारीको आरोप
चौलागाईंले कटुवालमाथि इटहरी उपमहानगरपालिकाको आगामी स्थानीय निर्वाचनमा मेयरको उम्मेदवारका रूपमा अघि सार्ने तयारी भइरहेको भन्ने आरोपसमेत लगाएका थिए।
उनले पार्टीको प्रदेश संगठनलाई बलियो बनाउनुपर्ने जिम्मेवारीमा रहेका व्यक्तिलाई इटहरीको मेयरको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै हिँडिएको भन्ने आरोप लगाउँदै त्यसको औचित्यबारे प्रश्न गरेका थिए।
यद्यपि, कटुवाललाई आगामी निर्वाचनमा मेयरको उम्मेदवार बनाउने विषयमा पार्टीले औपचारिक निर्णय गरेको पुष्टि कार्यक्रममा भएको जानकारी छैन। त्यसैले यो विषय चौलागाईंले उठाएको आरोपका रूपमा मात्रै आएको छ।
नेताहरूको कार्यशैलीले इटहरीमा पार्टी कमजोर भएको आरोप
चौलागाईंले कटुवालसहित प्रदेश र केन्द्रीय तहका नेताहरूको कार्यशैलीका कारण इटहरी उपमहानगरपालिकामा रास्वपाको संगठन कमजोर बनेको आरोपसमेत लगाएका थिए।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा संगठन विस्तार, कार्यकर्तासँगको सम्बन्ध र स्थानीयस्तरमा पार्टीको प्रभाव बढाउनुपर्ने समयमा नेतृत्वको भूमिका कस्तो छ भन्ने प्रश्न उनले उठाएका थिए।

उनले पार्टीको नेतृत्वमा रहेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको हो कि भन्ने आशय व्यक्त गर्दै इटहरीमा पार्टीको अवस्था कमजोर हुनुको कारणबारे स्पष्ट जवाफ मागेका थिए।
तर, चौलागाईंले उठाएका आरोपबारे कार्यक्रममा सहभागी कटुवाल वा अन्य नेताहरूले सार्वजनिक रूपमा जवाफ दिएको जानकारी प्राप्त भएको छैन।
प्रश्न उठ्यो, जवाफ आएन
स्थानीय निर्वाचन केन्द्रित ‘हामी आउँदैछौँ’ अभियानमा पार्टी संगठन सुदृढीकरण र चुनावी तयारीबारे छलफल भइरहेका बेला पार्टीकै पूर्व नगर सदस्यले प्रदेश महामन्त्रीको जिम्मेवारी, सम्भावित उम्मेदवारी र संगठनको अवस्थाबारे प्रश्न उठाएका हुन्।
कार्यक्रममा प्रश्न राख्ने क्रममा कटुवाल सभाहलबाट बाहिरिनु र मञ्चमा रहेका सांसद तथा नेताहरूले जवाफ नदिनुले चौलागाईंले उठाएका विषयको स्पष्टता खोज्ने अवस्था भने कायम राखेको छ।
पार्टीको आन्तरिक जिम्मेवारी, संगठन निर्माण र आगामी निर्वाचनको तयारीबारे उठेका यस्ता प्रश्नले नेतृत्वको जवाफदेहिता र कार्यकर्तासँगको संवादको विषयलाई चर्चामा ल्याएको छ।




















