इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–१७ मा लागुऔषधको बिक्रीवितरण, ओसारपसार तथा सेवन नियन्त्रणका लागि सक्रिय अभियानमा जुटेका वडाध्यक्ष प्रभातकुमार आचार्यसहितका अभियानकर्मीमाथि आक्रमण भएको छ। स्थानीय लागुऔषध नियन्त्रण अभियानमा संलग्न युवाहरूलाई लक्षित गरी गएराति करिब साढे १० बजे पोकली क्षेत्रमा आक्रमण भएको आचार्यले बताएका छन्।


वडाध्यक्ष आचार्यका अनुसार लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएका व्यक्तिहरूले महिला, बालबालिका तथा अन्य व्यक्तिहरूको समूह परिचालन गरी अभियानकर्मीमाथि ढुङ्गामुढा गरेका थिए। घटनाका बेला प्रहरी घटनास्थलमै उपस्थित रहे पनि आक्रमणमा संलग्न कसैलाई पक्राउ नगरेको उनको आरोप छ।


घटनामा घाइते भएका अभियानकर्मीसहित आक्रमणसम्बन्धी प्रमाण लिएर उजुरी दिन इलाका प्रहरी कार्यालय पकली जाँदा आक्रमणमा संलग्न भनिएको पक्षबाट पहिल्यै उजुरी दर्ता भइसकेको जानकारी पाएको आचार्यले बताए। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।


नौ महिनादेखि लागुऔषध नियन्त्रण अभियान

इटहरी–१७ सहित पकली क्षेत्रअन्तर्गत पर्ने वडा नम्बर १६ र १८ मा लागुऔषधको कारोबार तथा सेवन बढ्दा युवापुस्ताको भविष्य र सामाजिक वातावरणमा नकारात्मक असर परेको निष्कर्षसहित स्थानीय युवाहरूले करिब नौ महिनाअघि नियन्त्रण अभियान सुरु गरेका थिए।


अभियानका क्रममा स्थानीयबाट प्राप्त सूचनाका आधारमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएका व्यक्तिहरूमाथि निगरानी गर्ने, प्रहरीलाई सूचना दिने तथा कारोबार नियन्त्रणका लागि दबाब सिर्जना गर्ने काम हुँदै आएको थियो। अभियानका क्रममा ब्राउन सुगर, गाँजालगायत लागुऔषधसहित केही व्यक्ति पक्राउ परेको आचार्यको भनाइ छ।


वडाअध्यक्ष आर्चाय भन्छन्-“यो अभियानलाई जिल्ला प्रहरी र जिल्ला प्रशासनबाट पर्याप्त सहयोग छ। तर स्थानीय प्रहरीलाई हामी कुन उद्देश्यका लागि लडिरहेका छौँ भन्ने कुरा बुझाउन सकेनौँ वा उहाँहरूले बुझ्न चाहनुभएन। हामी आफ्नो भविष्यको पुस्ताको उज्ज्वल भविष्यका लागि लागुऔषधविरुद्ध लडिरहेका छौँ। यस अभियानमा स्थानीय प्रहरीको पनि प्रभावकारी साथ र सहयोग आवश्यक छ।”

करिब छ महिनाअघिदेखि वडाध्यक्ष आचार्यसमेत अभियानमा सक्रिय रूपमा जोडिएपछि यसको प्रभावकारिता बढेको स्थानीय अभियानकर्मीहरूको दाबी छ। लागुऔषध नियन्त्रणमा जनप्रतिनिधि र स्थानीय युवाहरूले खेलेको भूमिकाबारे स्थानीयस्तरमा मात्र नभई जिल्लामा आयोजित शान्तिसुरक्षासम्बन्धी बैठकहरूमा समेत चर्चा हुन थालेको उनीहरूको भनाइ छ।


प्रहरीको भूमिकामाथि प्रश्न

अभियान प्रभावकारी बन्दै गए पनि पछिल्लो समय इलाका प्रहरी कार्यालय पकलीबाट अपेक्षित सहयोग नपाएको वडाध्यक्ष आचार्यले गुनासो गरेका छन्। उनका अनुसार कतिपय अवस्थामा इलाका प्रहरी कार्यालयबाट सहयोग नपाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख (एसपी) र प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाट सहयोग लिनुपरेको थियो।


आचार्यले जिल्ला प्रहरी प्रशासन तथा सरकारले आवश्यक सहयोग गरिरहेको बताए पनि स्थानीय तहमा खटिने प्रहरीबाट पर्याप्त समन्वय र सहयोग हुन नसकेको आरोप लगाए।


विशेषगरी अभियानकर्मीमाथि आक्रमण हुँदा प्रहरी घटनास्थलमै उपस्थित भएर पनि प्रभावकारी हस्तक्षेप नगरेको उनको दाबी छ। यस विषयमा घटनास्थलमा खटिएका प्रहरीको भूमिका र घटनाक्रमबारे सम्बन्धित प्रहरी निकायको आधिकारिक प्रतिक्रिया आवश्यक देखिन्छ।


अभियानकर्मीलाई जोगाउन खोज्दा सुजित रौनियार घाइते

वडाध्यक्ष आचार्यका अनुसार केही दिनअघि गाँजासहित पक्राउ परेका व्यक्तिहरू बस्ने घरका घरधनीका आफन्तबाट आफूहरूमाथि आक्रमण भएको हो।


आक्रमणका क्रममा आफूसँगै रहेका स्थानीय युवा तथा अभियानकर्मी सुजित रौनियारले बचाउन खोज्दा चोट लागेको आचार्यले बताए। रौनियारको आँखाको डिलमा चोट लागेको छ।

WhatsApp Image 2026-10-12 at 19.06.15


रौनियारका अनुसार विवादका क्रममा धक्कामुक्की भएपछि आक्रमणकारीले वडाध्यक्ष आचार्यको अनुहारमा लक्षित गरी मुक्का प्रहार गरेका थिए। आचार्यलाई जोगाउन आफू अगाडि बढ्दा उक्त मुक्का आफ्नै आँखाको डिलमा लागेको उनले बताए।


“वडाध्यक्ष आचार्यमाथि मुक्का प्रहार हुन लागेपछि म अगाडि बढेर बचाउन खोजेँ। तर उहाँलाई लक्षित गरी प्रहार गरिएको मुक्का मेरो आँखाको डिलमा लाग्यो,” रौनियारले भने।


उनका अनुसार घटनास्थल नजिकै इलाका प्रहरी कार्यालय पकलीबाट खटिएका प्रहरी उपस्थित भए पनि उनीहरूले तत्काल हस्तक्षेप नगरेको देख्दा आफू आश्चर्यचकित भएको बताए।


यद्यपि घटनाको सम्पूर्ण विवरण, आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान तथा प्रहरीको भूमिकाबारे स्वतन्त्र पुष्टि र सम्बन्धित पक्षको प्रतिक्रिया आउन बाँकी छ।


पक्राउ पर्ने, छुट्ने र पुनः कारोबारमा फर्किने समस्या

लागुऔषध नियन्त्रण अभियानका क्रममा पक्राउ परेका व्यक्तिहरू केही समयपछि छुटेर पुनः त्यही गतिविधिमा संलग्न हुने गरेको वडाध्यक्ष आचार्यको दाबी छ। उनका अनुसार लागुऔषधसम्बन्धी मुद्दामा पर्याप्त प्रमाण संकलन नहुनु र मिसिल व्यवस्थित रूपमा तयार नगरिनु पनि यसको एउटा कारण हुन सक्छ।


आचार्यका अनुसार लागुऔषध बरामद गर्दा वास्तविक परिमाण, बरामदी मुचुल्का, परीक्षण प्रतिवेदन तथा अन्य प्रमाणलाई पर्याप्त रूपमा अभिलेखीकरण नगर्दा अनुसन्धान र अभियोजन कमजोर बन्न सक्ने अवस्था छ। त्यसबाट कतिपय मुद्दामा बरामद लागुऔषधको परिमाण र प्रमाणको विवरण प्रभावकारी रूपमा प्रस्तुत हुन नसक्ने तथा अभियुक्तले अपेक्षाकृत कम सजाय पाउने अवस्था सिर्जना भएको उनको आरोप छ।

WhatsApp Image 2026-10-12 at 18.50.16

उनले लागुऔषध बरामद गर्दा वास्तविक परिमाण खुल्ने गरी विवरण तयार गर्न, मुचुल्का तथा परीक्षण प्रतिवेदन व्यवस्थित रूपमा राख्न र अनुसन्धानका क्रममा प्राप्त सबै प्रमाणलाई मुद्दाको मिसिलमा समेट्नुपर्नेमा जोड दिएका छन्।


प्रमाणमा आधारित अनुसन्धान र प्रभावकारी अभियोजनबिना लागुऔषध कारोबार नियन्त्रण गर्न कठिन हुने उनको तर्क छ। यद्यपि मुद्दा कमजोर हुनु वा अभियुक्त छुट्नुका कारणबारे सम्बन्धित प्रहरी, सरकारी वकिल तथा अदालतको अभिलेखका आधारमा पुष्टि हुन आवश्यक छ।


वडाध्यक्ष आचार्यमाथि भएको आक्रमणको वडावासीद्वारा निन्दा, दोषीलाई कारबाही गर्न माग

लागुऔषध नियन्त्रणका लागि दिनरात नभनी निःस्वार्थ रूपमा अभियानको नेतृत्व गर्दै आएका वडाध्यक्ष प्रभातकुमार आचार्यमाथि आक्रमण भएको घटनाको वडावासीले निन्दा गरेका छन्।


लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्तिहरू तथा उनीहरूबाट परिचालित व्यक्तिहरूले आचार्यमाथि आक्रमण गर्नु निन्दनीय भएको वडावासीको भनाइ छ। उनीहरूले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।


वडावासीले लागुऔषध नियन्त्रण अभियानमा संलग्न जनप्रतिनिधि तथा स्थानीय युवाहरूलाई लक्षित गरी भएको आक्रमणलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। उनीहरूले इलाका प्रहरी कार्यालय पकलीको भूमिकामाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष छानबिन गर्न र स्थानीय प्रहरी प्रमुखको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्।


अभियानमा संलग्न व्यक्तिहरूमाथि लक्षित गरी भएको आक्रमणमा षड्यन्त्रको आशंका रहेको दाबी गर्दै वडावासीले घटनाको वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।


लागुऔषधको कारोबार तथा सेवनबाट वडा र समाजलाई मुक्त गराउने उद्देश्यले अभियान सञ्चालन गरिरहेका व्यक्तिहरूलाई प्रोत्साहन र सुरक्षा दिनुपर्नेमा उल्टै उनीहरूलाई निरुत्साहित गर्ने काम भएको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार यस्तो अवस्थाले लागुऔषध नियन्त्रण अभियानमा संलग्न व्यक्तिहरूको मनोबल कमजोर बनाउनुका साथै कारोबार नियन्त्रणको प्रयासमा समेत असर पार्न सक्छ।


वडावासीले लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन स्थानीय प्रहरी प्रशासनले आवश्यक सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिएका छन्। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र अभियानकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

आक्रमण नभई ठेलाठेल मात्रै भएको प्रहरी निरीक्षक ओलीको दाबी

इटहरी उपमहानगरपालिका–१७ का वडाध्यक्ष प्रभातकुमार आचार्यसहित लागुऔषधविरुद्धको अभियानमा संलग्न अभियानकर्मीमाथि भएको भनिएको आक्रमणको घटनाबारे इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक सञ्जीव ओलीले फरक धारणा सार्वजनिक गरेका छन्। उनले आफू घटनाबारे जानकारी पाउनासाथ घटनास्थल पुगेको उल्लेख गर्दै अभियानकर्मीले दाबी गरेजस्तो आक्रमण नभई ठेलाठेल मात्रै भएको जिकिर गरेका छन्।


प्रहरी निरीक्षक ओलीका अनुसार लागुऔषधविरुद्ध अभियान सञ्चालन गर्नु सकारात्मक भए पनि पछिल्लो समय अभियानमा संलग्न केही व्यक्तिको गतिविधिका कारण स्थानीयमा असन्तुष्टि बढेको छ। बाटोमा हिँडिरहेका, उभिएका तथा बसेका व्यक्तिलाई अनावश्यक रूपमा रोक्ने र खानतलासी गर्ने गरेको भन्दै स्थानीयले प्रतिवाद गरेको उनको दाबी छ।

WhatsApp Image 2026-10-12 at 19.16.42


उनले अभियानमा संलग्न व्यक्तिहरूले अनावश्यक रूपमा भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको विषयले समेत स्थानीयमा असन्तुष्टि बढाएको बताए। अभियानको उद्देश्य सही भए पनि त्यसलाई सञ्चालन गर्ने क्रममा अरूको अधिकार र व्यक्तिगत मर्यादालाई ध्यान दिनुपर्ने उनको भनाइ छ।


प्रहरी निरीक्षक ओलीले घटनामा संलग्न भनिएका दुवै पक्षको भूमिकामाथि प्रश्न उठाउँदै उनीहरूबीचको विवादलाई घटनाको प्रकृति र उपलब्ध प्रमाणका आधारमा हेर्नुपर्ने बताए। उनले आक्रमणमा संलग्न केही व्यक्तिहरू यसअघि पनि लागुऔषध कारोबारसम्बन्धी मुद्दामा पक्राउ परी धरौटीमा छुटेको दाबी गरे। 


अभियानलाई निरन्तरता दिन प्रहरी तयार


प्रहरी निरीक्षक ओलीले लागुऔषधविरुद्धको अभियानमा इलाका प्रहरी कार्यालय पकलीले नियमित रूपमा सहयोग गर्दै आएको बताए। सोमबार भएको छलफलमा पनि अभियानलाई निरन्तरता दिन आफूले आग्रह गरेको र आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको उनको भनाइ छ।


उनका अनुसार अभियानकर्मीहरूले छलफलका क्रममा अबदेखि अभियान सञ्चालन नगर्ने बताएको भए पनि आफूले अभियानलाई निरन्तरता दिन आग्रह गरेका थिए। लागुऔषध नियन्त्रणका लागि प्रहरी र समुदायबीच सहकार्य आवश्यक रहेको उनले बताए।


दुवै पक्षको निवेदन र घटनाको प्रकृतिबारे प्रहरीको तर्क


प्रहरी निरीक्षक ओलीका अनुसार घटनाबारे छलफल गराउन सोमबार बिहान दुवै पक्षलाई बोलाउने प्रयास गरिएको थियो। तर वडाध्यक्ष आचार्यसहितको टोली ढिलो गरी आएको र त्यसअघि नै अर्को पक्षले जिल्ला प्रहरी कार्यालय सुनसरीमा निवेदन दर्ता गराएको उनले जानकारी दिए।


कुन पक्षको निवेदन पहिले लिने भन्ने प्रश्नमा उनले निवेदन दर्ताको क्रमभन्दा घटनाको प्रकृति र त्यससँग सम्बन्धित तथ्य महत्त्वपूर्ण हुने बताए। विगतमा लागुऔषध कारोबारमा पक्राउ परेका व्यक्तिहरूले नै उजुरी दिए पनि उनीहरूले उठाएका विषयको प्रकृति र उपलब्ध प्रमाणका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउन सक्ने उनको जिकिर छ।


नागरिकको सुरक्षा कि जोखिमपूर्ण अभियान ?

लागुऔषधको कारोबार नियन्त्रण गर्नु प्रहरीको कानुनी जिम्मेवारी हो। समुदायबाट प्राप्त सूचना र स्थानीयको सहभागिता अपराध नियन्त्रणका लागि महत्त्वपूर्ण भए पनि जनप्रतिनिधि तथा नागरिक स्वयंले जोखिम मोलेर अभियान सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय हो।


अभियानकर्मीमाथि आक्रमण भएको आरोप, घटनास्थलमा प्रहरी उपस्थित हुँदाहुँदै पनि पक्राउ नगरिएको गुनासो तथा लागुऔषधसम्बन्धी मुद्दाको अनुसन्धान र प्रमाण व्यवस्थापन कमजोर हुने गरेको दाबीले प्रहरीको कार्यसम्पादन र समुदायसँगको समन्वयबारे प्रश्न उठाएको छ।