सुनसरी । प्रतिकूल देवानगञ्ज घटनापछि सुनसरीको प्रहरी कमाण्ड सम्हाल्न आएका एसपी पुष्पराज मल्लको झन्डै दुई महिने कार्यकाल पूरा भएको छ। देवानगञ्ज घटनापछि विशेषगरी जिल्लाको दक्षिणी भेगको सुरक्षा संवेदनशीलताप्रति मल्ल बढी केन्द्रित भएर काम गरिरहेका छन्।

देवानगञ्ज घटनाको एउटा कारण तस्करीसमेत भएको बुझेका एसपी मल्ल पछिल्लो दुई महिनायता तस्करी नियन्त्रणमा कडा रूपमा प्रस्तुत हुँदै आएका छन्। भदौ महिनामा मात्रै भन्सार छलिका सामान नियन्त्रणमा लिएर ५४ लाख २३ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ। भन्सार छलिका सामान मात्रै नियन्त्रणमा लिने, तर मानिस पक्राउ नपर्ने अवस्थालाई परिवर्तन गर्दै भदौ महिनामा तस्करीमा संलग्न ९ जनालाई पक्राउ गरिएको छ।

त्यस्तै, तस्करीको मामिलामा प्रहरीलाई अनावश्यक भनसुन गर्ने पुरानो प्रवृत्तिलाई समेत एसपी मल्लले निरुत्साहित गरेका छन्।

हाल जिल्लामा जटिल बन्दै गएको गाँजा तस्करीको सञ्जाल तोड्न एसपी मल्लले तस्करहरूको प्रोफाइलिङ गरिरहेका छन्। सुनसरीको सीमा क्षेत्रबाट व्यावसायिक रूपमा गाँजा तस्करी गर्नेहरूको प्रोफाइलिङ भइरहेको छ। त्यसो त आपराधिक पृष्ठभूमि, गुण्डागर्दी तथा तस्करीमा संलग्न ९९ जनाको प्रोफाइल जिल्ला प्रहरी कार्यालयले गरिसकेको छ । मल्ल उनका अनुसार गाँजा तस्करीमा संलग्न व्यक्तिहरूको विशेष रूपमा प्रोफाइलिङ जारी छ भने गाँजा तस्करीमा प्रयोग हुने ग्राउन्ड रुटको समेत स्केच तयार पारिँदैछ।

गाँजा तस्करी नियन्त्रणमा कडा रूपमा प्रस्तुत भएका एसपी मल्लले शनिबार बिहान मात्रै इनरुवा–१०, जल्पापुरबाट १ हजार ४५४ केजी गाँजा, तस्करीमा प्रयोग भएको सवारीसाधन तथा तस्करीमा संलग्न रामबहादुर यादवलाई नियन्त्रणमा लिएका छन्। ठूलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरी संगठनले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

एसपी मल्ल भन्छन्, “१ हजार ४५४ केजी गाँजा  नियन्त्रणमा लिनु एउटा उपलब्धि हो। अब यो प्रकरणबाट हामी तस्करीदेखि गाँजाका धनीसम्मको कनेक्सनबारे अनुसन्धान गर्दैछौँ।” त्यस्तै, शुक्रबार कोशी गाउँपालिका–६ बाट भारतबाट तस्करी गरी भित्र्याइएको करिब १० लाख रुपैयाँ बराबरको मासुका प्याकेट नियन्त्रणमा लिइएको छ।

एसपी मल्लका अनुसार लागुऔषध नियन्त्रणसम्बन्धी कार्यविधि नै बनाएर अहिले प्रोफाइलिङ, अनुसन्धान र अपरेसन सञ्चालन भइरहेको छ। त्यस्तै तस्करीमा संलग्न व्यक्तिहरूसँग कनेक्सन देखिएका प्रहरी कर्मचारीमाथिसमेत कारबाही गरिएको उनले जानकारी दिएका छन्।

“हामीले केही प्रहरीलाई कारबाही गरेका छौँ, जिम्मेवारीबाट हटाएका छौँ र सचेत गराएका छौँ। केही प्रहरीको भूमिकामाथि निगरानीसमेत गरिरहेका छौँ। यसमा प्रहरी मात्र नभई अन्यलाई पनि कारबाहीको दायरामा ल्याउँछौँ,” एसपी मल्लले भने।

चतरा र धरान मुख्य रुट

सुनसरीमा गाँजा तस्करीको जरासम्म पुग्न प्रोफाइलिङसँगै गाँजा भित्रिने रुटको समेत विश्लेषण भइरहेको छ। सुनसरी जिल्लाभित्र चतराको जल तथा ग्रामीण सडक हुँदै र धरानतर्फ सडक तथा भरियामार्फत धनकुटा क्षेत्रबाट गाँजा भित्रिने गरेको पाइएको छ।

यी नाकाबाट गाँजा भित्रिन नदिन फरक रणनीति बनाउन एसपी मल्लले सुरक्षा युनिटहरूसँग छलफल गरिरहेको स्रोतको दाबी छ। यी रुटमा पर्ने प्रहरी मातहतका कमाण्डलाई समेत एसपी मल्लले सचेत गराइसकेका छन्।

यता, कोशी प्रदेश प्रहरी कार्यालयले पनि सुनसरीलगायतका जिल्लाबाट हुने गाँजा तस्करी नियन्त्रणमा फरक रणनीतिका साथ सूचना संकलन भइरहेको जनाएको छ। प्रदेश प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्र सिंह थापाका अनुसार जिल्ला प्रहरीसँग समन्वय गरेर तस्करीमा संलग्न व्यक्तिदेखि गाँजाका धनीसम्मको सूचना संकलन भइरहेको छ।

“प्रदेश प्रहरीको समेत छुट्टै प्रहरी टोली परिचालित छ। सकेसम्म हामीले गाँजा तस्करी नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ। यसमा पब्लिक साइडबाट पनि सहयोगको अपेक्षा छ,” एसएसपी थापाले प्रदेश पोर्टलसँग भने।