सुनसरी । इटहरीमा निर्वाचन बहिष्कार अभियानसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुई जना नेतालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पार्टीका १५ नम्बर ब्युरो इन्चार्ज सिताराम बुढाथोकी र सोही ब्युरोका सचिव डिल्ली बोहोरा रहेका छन्। उनीहरूलाई शनिबार इटहरीको पशुपति चोक क्षेत्रबाट नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार निर्वाचन बहिष्कार अभियानको सन्दर्भमा सार्वजनिक शान्ति भंग हुने आशंकालाई ध्यानमा राख्दै संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। उक्त टोलीमा कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरीइलाका प्रहरी कार्यालय इटहरीका सुरक्षाकर्मी सहभागी रहेका थिए।

प्रहरीका अनुसार प्रारम्भिक सूचनाका आधारमा उनीहरू निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने खालका गतिविधिमा संलग्न रहेको आशंकामा निगरानीमा राखिएको थियो। सोही क्रममा पशुपति चोकमा भेटिएपछि नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ। दुवैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी आवश्यक अनुसन्धान थालिएको छ। 

निर्वाचन नजिकिँदै गर्दा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा प्रहरी निगरानी कडा बनाइएको छ। प्रहरीले आम नागरिकलाई शान्तिपूर्ण र कानुनसम्मत ढंगले आफ्ना अभिव्यक्ति राख्न आग्रह गरेको छ।