इटहरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले रातको समयमा साइलेन्सर पड्काउँदै हिँड्ने १० वटा बाइक नियन्त्रणमा लिएको छ । सबै बाइकहरू इटहरी र धरानका बजार क्षेत्रबाट नियन्त्रणमा लिइएका हुन । सादा पोसाकका ट्राफिक प्रहरी नै परिचालन गरेर बाइकका चालकलाई समेत नियन्त्रणमा लिई कारबाही थालेको हो ।
विशेष गरी रोयल इन्भिल्ड मोडलका बुलेट बाइकहरूको कम्पनी मार्फत आउने साइलेन्सर निकालेर मोडिफाई गरिएका साइलेन्स जडान गरी चर्को आवाज निकाल्ने गरिन्छ । रातको शान्त समयमा यसरी आवाज निकाल्दै बाइक गुड्दा अत्यधिक ध्वनि प्रदूषण हुने गरेको छ । यस्तै अहिले पड्किने खालको साइलेन्सरमा ‘इगनिसिङ’ सिस्टम बनाएर गोली पड्के जस्तो आवाज निकाल्दै उश्रृखल युवाहरू बाइक चलाउने गरेका छन् ।
यसरी मोडिफाई गरी बजार क्षेत्रमा ध्वनि प्रदूषण गर्ने २६३ वटा बाइकलाई पुस महिनासम्म नियन्त्रणमा लिई कारबाही गरिएको र अहिले थप १० वटा बाइक नियन्त्रणमा लिइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका डिएसपी सन्तोष श्रेष्ठले जानकारी दिए ।
रातको समयमा आतङ्क सृजना गर्ने यस्ता बाइक नियन्त्रणमा लिने अभियान ट्राफिक प्रहरीले सुरु गरेपछि बजार क्षेत्रका स्थानीयहरू केही राहत महसुस गरेका छन् । बाइकको आवाजले घरमा भएका बिरामी, बृद्धबृद्धा तथा बालबालिकाहरू धेरै सास्ती भोग्दै आएको स्थानीय बताउँछन् । ट्राफिक प्रहरीले यसरी आवाज निकाल्ने सवारी साधनालाई नियन्त्रणमा लिने र कारबाही गर्ने काम निरन्तर हुनु पर्ने माग समेत गरेका छन् । ध्वनि प्रदूषण गर्ने यस्ता बाइकहरूलाई ट्राफिक प्रहरी इटहरीले जरिवाना गर्नुको साथै साइलेन्सर परिवर्तन गर्न लगाउने र चालकलाई अभिभावकसँगै राखेर ट्राफिक सचेतना कक्षा गराएर मात्र छाड्ने गरेको छ । यस्ता बाइक चलाउनेहरू प्राय कलेजमा पढ्ने जेनजी उमेरका छन् ।





















