खोटाङः  नेपाली काँग्रेस खोटाङका सभापति बिष्णुकुमार राईलाई पार्टीले सदस्यताबाट निष्कासन गरेको छ । एक वर्षसम्म पार्टी सदस्यता नै नरहने गरि सभापति राईलाई पार्टीले निष्कासन गरेको हो । निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपलाई पुष्टि गर्दै केन्द्रीय अनुशासन आयोगले कार्वाही गरेको अनुशासन समितिका संयोजक आनन्द ढुंगानाद्धरा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

गत असार १७ गते बसेको काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले खोटाङका सभापति राईलाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेको जनाएको छ । तीन वर्ष अघिको निर्वाचनमा खोटाङ प्रतिनिधिसभामा काँग्रेसले माओवादीका उम्मेद्धार रामकुमार राईलाई समर्थन गरेको थियो भने प्रदेशसभाको निर्वाचनमा क्षेत्र नं १(२) मा काँग्रेसकै भुपेन्द्र राईलाई उम्मेदवार बनाएर र क्षेत्र नं १(१) मा एकीकृत समाजवादीका बिरबल काजी राईलाई समर्थन गरेको थियो । सभापति राईसहितले गठबन्धनका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लागेको थियो ।

प्रतिनिधिसभामा रामकुमार र प्रदेशसभामा भुपेन्द्र निर्वाचित हुँदा अर्को प्रदेशसभाका उम्मेदवार बिरबलकाजीलाई हराउँदै एमालेका पाँचकर्ण राई विजयी भएका थिए । तीन वर्ष अघिको निर्वाचनमा अन्तर्घात गरेको आरोप पुष्टि गर्दै राईलाई पार्टीबाट निष्कासन गरिएको जनाएको छ ।

यता, कार्वाहीमा परेका काग्रेस नेता राईले पार्टीको कार्वाहीलाई स्वीकार गरेको जवाफ जवाफ दिएका छन् । आफूमाथि भएको कारबाही पत्र आफ्नै फेसबुक पेजमा सार्वजनिक गर्दै राईले आफू निष्ठावान खोटाङे कांग्रेसीको साथमा रहने बताएका छन् । उनले आफ्नो ३५ वर्षे राजनीतिक यात्रामा उकाली ओराली छिचोलिरहेको भन्दै अन्याय र अपमान सहन नसक्ने बताएका छन् । राईले लेखेका छन् ‘सहर्ष ग्रहण १ राजनीतिमा सधै प्राप्ति मात्र हुँदैन, गुमाउनु पनि पर्छ ।

३५ वर्षे निरन्तर राजनैतिक यात्रामा कहिले उकाली कहिले ओराली छिचोलियो । २०७९ सालको गठबन्धनका क्रममा खोटाङ कांग्रेसलाई केन्द्रीय नेतृत्वबाट सुनियोजित ढंगले भएको ठूलो अन्याय र अपमान व्यहोर्नु पर्दा म स्वाभिमानी कार्यकर्ता विष्णुकुमार राईलाई त्यो विल्कुल सह्य हुने कुरो थिएन,’ उनले भनेका छन्, ‘त्यसको विरुद्ध म डटेर लागेकै हुँ । जसबापत केन्द्रले महत्वपूर्ण सम्मान पत्र पठाएको छ । हार्दिक ग्रहण गर्दछु । म सदैव स्वाभिमानी निष्ठावान खोटाङे कांग्रेसीहरुका साथमा छु, रहनेछु ।’ राईले सामाजीक संञ्जालमार्फत आफ्नो धाराण सार्वजनिक गर्दै केन्द्रीय नेतृत्वको कार्वाहीलाई सम्मान र चुनौती दुवै दिएको देखाएको छ ।

यस घटनाले नेपाली काँग्रेसभित्रको केन्द्र र स्थानीय नेतृत्वबीचको अन्तर र पार्टीको अनुशासनको मुद्दालाई पुनः चर्चामा ल्याएको छ । पार्टीको अनुशासनको मुद्दामा केन्द्रीय नेतृत्वको कडाइ र स्थानीय नेताहरूको प्रतिक्रियाले नेपाली काँग्रेस खोटाङको आन्तरिक राजनीति थप पेचिलो बनेको छ । यस कार्वाहीले स्थानीय नेताहरूमाथि समेत प्रभाव पार्ने आंकलन गरिएको छ । खोटाङमा काँग्रेस नेता राई सरल स्वभाव, निष्ठावान र शालीन छवि भएको नेताको रुपमा परिचित छन् । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।