इटहरीः रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंबाट दोषी ठहर भएको झण्डै तीन बर्षपछि इटहरीका दिलचन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ। फैसलापछि उनी फरार रहेको प्रहरीको दावी छ ।
ईटहरी उपमहानगरपालिका–११ निवासी ५२ वर्षीय राईलाई विशेष अदालतको २०७९ साल भदौ २८ गतेको फैसला अनुसार २ वर्ष ६ महिना कैद र ७ लाख ५३ हजार ६७५ रुपैयाँ जरिवाना तोकिएको थियो।
सो फैसला पश्चात् लामो समयदेखि लुकीछिपी फरार रहेका राईलाई प्रहरीले गोप्य सूचनाको आधारमा खोजतलास गर्दै गएको थियो। यसै क्रममा मिति २०८२ साल असार ५ गते दिउँसो १ बजे ईटहरीको भवानीपुरस्थित सामुदायिक प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले उनलाई निजकै घर आसपासबाट पक्राउ गरेको हो।
पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा पठाइएको प्रहरीले जनाएको छ।