इटहरीः राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा यु–१४ राष्ट्रिय विद्यालय खेलकुद सोमबारदेखि सुरु भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रममा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री चौधरीले १९ औं एसियाली खेलकुदकी ऐतिहासिक कांस्य विजेता करातेकी एरिका गुरुङलाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरे ।
भीआईपी प्यारापिटको विशिष्ट दीर्घामा टर्च ग्रहणपछि एरिका त्यहाँबाट ट्रयाकमा ओर्लेएकी थिइन् । ट्रयाकमा दौड्दै एरिकाले टर्च एसियाली खेलकुदकै महिला कबड्डी टोलीकी कांस्य विजेता मानमति विष्टलाई दिइन् । मानमतिले १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता उसुका विजय सिन्जालीलाई प्रदान गरिन् ।
विजयले युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपका कास्य पदक विजेता सुरेश चुनारालाई दिए । सुरेशले टर्चलाई ट्रयाकमा परिक्रममा गराउनुअघि बाँकी खेलाडी पनि सुरेशसंगै मिसिए । त्यसपछि सुरेशले ३ खेलाडीसंग मिलेर टर्च परिक्रमा गराएका थिए । त्यसअघि सहभागी सातै प्रदेशका टोलीको मार्चपास भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले विद्यालय खेलकुद युवा खेलाडी उत्पादनको महत्वपूर्ण प्रतिस्पर्धा रहेको र यसले निरन्तरता पाउनुपर्ने बताए ।
राखेपका सदस्य–सचिव टंकलालले विद्यालय तहबाट खेलकुदको जगलाई बलियो बनाउन जुनियर प्रतियोगिताको सुरुआत गरिएको बताउदै जुनियर प्रतियोगिताले राष्ट्रिय टोलीलाई समेत योगदान दिने बताए । उनले ६ खेलबाट खेल संख्या बढाउनु पर्नेमा जोड दिदै जिल्लार प्रदेश तहबाट नै छनोट हुँदै आएकाले यो प्रतियोगिताबाट उत्कृष्ट प्रतिभा निस्कन विश्वास व्यक्त गरे ।
नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को सह–आयोजना तथा नेपाल विद्यालय खेलकुद महासंघको संयोजनमा भएको प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडी सहभागी छन् । २५ स्वर्ण, २५ रजत र ३३ कांस्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।
प्रतियोगितामा ६ खेल समावेश छन् । एथलेटिक्स र रग्बी त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बूढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा भइरहेको छ । क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । बाँकी ५ खेल सोमबार सम्पन्न हुनेछ ।
उद्घाटनका अवसरमा नेपालय, एक्सपर्ट एजुकेसन भिसा सर्भिसेस, निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), नाइटिङगेल माध्यमिक विद्यालय, कुपण्डोल, राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल, नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल शिक्षक महासंघलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।