काठमाडौः  नेपालका कीर्तिमानी धावक तथा ओलम्पियन वैकुण्ठ मानन्धर मंगलबार सम्मानित भएका छन् । नेपालको पहिलो साइकल पसल प्याङ्क बाइकले आफ्नो १०० वर्ष पुगेको अवसरमा मानन्धरलाई सम्मानित गरेको हो ।

काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलको प्रमुख आथिथ्य रहेको कार्यक्रममा प्याङ्कले एडिसन साइकल सार्वजनिक समेत ग¥यो । उपप्रमुख डंगोल र संचालक तिरेक मानन्धरले ओलम्पियन बैकुण्ठ मानन्धरलाई सम्मान गरेका थिए । ओलम्पिन मानन्धरले पनि एक थान प्याङ्क एडिसन बाइक प्राप्त गरेका छन् ।

मानन्धरको खेलकुदप्रति अथक समर्पण र प्रेरणादायी उपस्थितिको कदर गर्दै प्याङ्क कस्टम बैकुण्ठ मानन्धर २ः१५ः०३ लिमिटेड एडिसन नामक साइकल सार्वजनिक गरेका छौं,’  संचालक तिरेक मानन्धरले भने ।

यससँगै ओलम्पियन मानन्धर एडिसन साइकलको सद्भावना दूत नियुक्त भएका छन् । अब, यो साइकल १०० थान बिक्रीबाट उठेको फाइदा मानन्धरले पाउनेछन् ।

मानन्धरले सन् १९८७ को दक्षिण एसियाली खेलकुद (साग)को म्याराथन २ घण्टा १५ मिनेट ३ सेकेन्डमा पूरा गरेका थिए । ३८ वर्षपछि पनि यो कीर्तिमान दक्षिण एसियामा तोडिएको छैन ।

सम्मानित भएपछि मानन्धरले भने, ‘यो साइकलबाट आएको रकम मैले आफ्नै संस्थामा खर्च गर्नेछु र दोस्रो बैकुण्ठ मानन्धर जन्माउने प्रयत्न गर्नेछु’ मानन्धरले भने, ‘यो साइकल मेरो सुविधाको लागि मात्र होयन, सम्मान र सम्झना जोडिएको छ । सम्मानित बनाउनु भएकोमा अत्यन्त कृतज्ञ छु ।’

सन् १९२५ मा अष्ट नारायण मानन्धरले असन कमलाक्षीमा पञ्च नारायण अष्ट नारायण साइकल पसलको सुरुवात गरेका थिए । हालसम्म यो पसल असनमा यथावत छ ।

प्याङ्कले कार्यक्रममा नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई एक थान साइकलद्वारा सम्मान गरेको थियो । कार्यक्रममा उपस्थित पत्रकारबाट सुवेदी गोलप्रथामा विजयी भएका हुन् ।