काठमाडौंः भारतका शात मिश्राले नेपालका सदभाव आचार्यलाई ४ स्ट्रोकले हराउँदै १०औं नेपाल एमेच्योर ओपनको उपाधि जितेका छन।

गोकर्ण गल्फ क्लबमा आज सम्पन्न खेलको तेश्रो तथा अन्तिम दिन शातले ३–ओभर ७५ खेल्दै समग्रमा ८–अन्डर २ सय ८ को स्कोर खडा गरे। नेपालका सदभावले आज ३–अन्डर ६९ खेले र समग्रमा ४–अन्डर २ सय १२ को स्कोरमा दोस्रो स्थान हासिल गरे।

डिफेन्डिङ च्याम्पियन भारतका सुमित कोटवालले ५–अन्डर ६७ सहित समग्रमा ३–अन्डर २ सय १३ सहित तेस्रो स्थानमा समेटिए।

अन्तिम १८ होलको सुरूवात गर्दा शात नेपालका राहुल विश्वकर्मा भन्दा ६ स्ट्रोकले अगाडि थिए। राहुलले चार होलको समाप्तीमा अग्रता तीन स्ट्रोकमा झारिसकेका थिए। तर यसपछि राहुलले सातौं र नवौं होलमा डबल बोगीको सामना गर्दा आठौं होलमा पनि एक सट खेर फालेपछि उपाधि जित्ने सम्भावना समाप्त भएको थियो।

शातले भने फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए। तेस्रो र सातौं होलमा एक–एक सट बचाउँदा दोस्रो, चौथो र आठौं होलमा बोगी प्रहार गरे। ब्याक नाइन २–ओभर ३८ मा सकाए। १२औं होलको बर्डी विरूद्ध १३औं, १४औं र १७औं होलमा बोगी खेपे।

सदभावले आज फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे भने सातौं होलमा इगलको सफलता प्राप्त गरे। आठौं होलमा डबल बोगीको सामना गरे। यसपछि ब्याक नाइनमा चार वटा बर्डी प्रहार गरे। ११औं, १३औं, १४औं र १८औं होलमा एक–एक सट बचाए। तर १२औं, १६औं र १७औं होलमा बोगी प्रहार गर्दा ब्याक नाइन १–अन्डर ३५ मा सकाए।

सुमितले तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दै २–अन्डर ३४ मा फ्रन्ट नाइनको खेल सकाए। बोगी फ्री स्कोर निकालेका उनले ११औं, १४औं र १६औं होलमा एक–एक सट बचाउँदै ब्याक नाइन ३–अन्डर ३९ मा पुरा गरे।

महिलातर्फ श्रीलंकाकी काया दलुवाटेले आज ४–अन्डर ६८ सहित समग्रमा ६–अन्डर २ सय १० को शानदार स्कोरमा भारतकी दिया क्रिस कुमारलाई ११ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उपाधि जितिन। १–ओभर ७३ मा अन्तिम दिनको खेल पुरा गर्दै समग्रमा ५–ओभर २ सय २१ सहित दिया दोस्रो भइन। ५–ओभर ७७ को स्कोर बनाएकी अनाथी विवेक समग्रमा १२–ओभर २ सय २८ सहित तेस्रो भइन।

कायाले पहिलो, तेस्रो र छेटौं होलमा बर्डी र चौथो होलको डबल बोगीले फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाइन। १०औं र १४औं होलमा बर्डी र ११औं होलको इगलको सफलता प्राप्त गरिन। १२औ होलको बोगीले ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरिन। अनाथीले दोस्रो होलको बर्डी र छैटौं होलको बोगीले फ्रन्ट नाइन इभन–पार ३६ मा पुरा गरिन। यसपछि १३औं होलमा बोगी तथा १६औं र १८औं होलको डबल बोगीले ब्याक नाइन ५–ओभर ४१ मा पुरा गरिन।

५४ होल तीन दिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच राष्ट्रका पुरूषतर्फ ५२ र महिलातर्फ १३ गरी कुल ६५ खेलाडीले सहभागिता रहेको थियो। नेपाल गल्फ संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंङ्गीको सहयोग रहेको थियो।

विजयी खेलाडीहरुलाई युवा तथा खेलकूद मन्त्री विराज भक्त श्रेष्ठ तथा संघीय सांसद निशा डांगीले पुरस्कार प्रदान गरे। मन्त्री श्रेष्ठले सरकार र नेपाल गल्फ संघ मिलेर गल्फलाई नयाँ ऊचाईमा पुर्याउने तर्फ काम भईरहेको बताए। उनले गल्फ कोर्षको लागि छिट्टै जग्गा उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे।