काठमाडौँः  बढ्दो सहरीकरण, न्यून ज्याला, कडा परिश्रम, वैदेशिक रोजगारीको आकर्षण जस्ता विभिन्न कारणले कृषिमा कामदारको अभाव देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा कामदारको अभाव मधेश प्रदेशमा देखिएका छन् भने सबैभन्दा कम कामदारको अभाव कर्णाली प्रदेशमा देखिएको छ । तथ्याङ्क कार्यालयले विवरण सङ्कलन गरिएको सातै वटा प्रदेशको वडामध्ये दुई हजार ४१७ अर्थात् ४० प्रतिशत वडामा कामदारको अभाव देखिएको छ । 

मधेश प्रदेशमा गणना गरिएका वडामध्ये ७१३ अर्थात् ६२ प्रतिशत वडामा कामदारको अभाव देखिएको तथ्याङ्क कार्यालयले जनाएको छ । कृषि कामदारको सबैभन्दा कम अभाव हुने गरेका वडा रहेको प्रदेशमा कर्णाली प्रदेश रहेको छ । त्यहाँ १३ प्रतिशत अर्थात् ८३ वटा वडामा मात्र कामदारको अभाव देखिएको बताइएको छ । कोशी प्रदेशका ४८५, बागमती प्रदेशका ३९७, गण्डकी प्रदेशका ३०५, लुम्बिनी प्रदेशका ३३७ र सुदूरपश्चिम प्रदेशका ९७ वटा वडामा कृषि कामदारको अभाव रहेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीका अनुसार कृषिमा कामदारको अभाव पनि एउटा समस्या रहेको बताए। बढ्दो सहरीकरण तथा वैदेशिक रोजगारीप्रतिको आकर्षणले गर्दा कृषिमा कामदारको अभाव देखिएको बताए। कामदारको अभावका कारण कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरणमा जोड दिएको बताउँदै उनले यान्त्रिकीकरणका कारण कामदार अभावलाई केही हदसम्म आपूर्ति गरिरहेको बताए । कामदारको अभावका कारण कृषिमा मसिन तथा औजारको प्रयोग हुन थालेको बताउँदै उनले कृषिमा उत्पादन तथा उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड दिनै पर्ने बताए। 

अरू क्षेत्रभन्दा कृषि क्षेत्रमा काम गर्ने कामदारको ज्याला कम रहेको पाइएको छ । त्यसमा पनि महिला र पुरुष कृषि कामदारको ज्याला पनि फरक छ । पुरुषको ज्यालाभन्दा महिलाको ज्याला कम रहेको पाइएको छ । तथ्याङ्क कार्यालयले सङ्कलन गरेको विवरण अनुसार नेपालमा कृषि कामदारको औसत ज्यालादारी महिला कामदारको ५३१ रुपियाँ र पुरुष कामदारको ६६५ रुपियाँ रहेका छन् ।

सबैभन्दा बढी ज्याला बागमती प्रदेशमा दिएको छ । त्यहाँ महिला कृषि कामदारले औसतमा दैनिक ५३१ रुपियाँ पाएका छन् भने पुरुषले ६६५ रुपियाँ पाएका छन् । सबैभन्दा काम ज्याला मधेश प्रदेशका कृषि कामदारले पाएका छन् । कृषिमा सबैभन्दा बढी उत्पादन गर्ने मधेश प्रदेशका महिला कामदारले ४७७ र पुरुषले ५५७ रुपियाँ ज्याला पाएका छन् ।

कोशी प्रदेशका महिला कामदारले ४७७ र पुरुषले ५५७, गण्डकी प्रदेशका महिला कामदारले ५५० र पुरुषले ८०८ रुपियाँ ज्याला पाएका छन् । त्यस्तै लुम्बिनी प्रदेशका महिला कामदारले ५११ रुपियाँ र पुरुष कामदारले ६२१ रुपियाँ र सुदूरपश्चिम प्रदेशका महिला कामदारले ५३८ र पुरुष कामदारले ६०१ रुपियाँ ज्याला पाएको तथ्याङ्क कार्यालयको विवरणमा उल्लेख छ ।