काठमाडौंः  नेपाल हक्की संघको आयोजनामा छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

 प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । प्रतियोगिता सञ्चालन गर्न सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्, धुलिखेल नगरपालिका र विभिन्न संघ संस्थाले सहयोग गर्ने बताइएको छ । पाँचदिने प्रतियोगिताका खेलहरु काभ्रको धुलिखेल खेलकुद मैदानमा हुनेछ ।

हक्की संघले प्रशिक्षक तथा निर्णायकलाई समयानुकुल परिस्कृत गर्दै लाने उद्देश्यले प्रतियोगिताका दौरान एसियन हक्की महासघंको सहयोगमा एएचएफ टेक्निकल अफिसियल कोर्स पनि ंधुलिखेलमा हुने भएको छ ।

रंगशाला र प्रशिक्षण केन्द्रका लागि जग्गा प्राप्त 

     पत्रकार सम्मेलनमा हक्कीको अन्तर्राष्ट्रिय स्तरको रंगशाला र प्रशिक्षण केन्द्र निर्माणका लागि धुलिखेलमा जग्गा प्राप्त भएको जानकारी दिइयो । महासचिव श्रेष्ठले रंगशाला र प्रशिक्षण केन्द्र बनाउन काभ्रेको धुलिखेल नगरपालिकाले हक्की सघंलाई धुलिखेल नगरपालिकाको वडा नं. १२ मा रहेको खेल मैदान उपलब्ध गराएको बताइन् । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले सोका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको र अन्तिम चरणमा पुगको बताइएको  छ ।