इटहरीः कृषि क्षेत्रको व्यावसायिकता लागको इलामको रोङ गाउँपालिकाले तीतेपाती खेती बिस्तार गर्ने भएको छ । किसानलाई बाँदर, बँदेल लगायतका वन्यजन्तुले दुःख दिइरहेको बेला गाउँपालिकाले अन्य खेतीको विकल्पका रूपमा व्यावसायिक पाती खेती गर्न लागेको हो । 

पालिकाले बन मार्फत समृद्धि कार्यक्रम अन्तरगत पाती खेती सुरु गर्न लागेको पनि जनाएको छ । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङबोले पदभार ग्रहण गर्दा पहिलो निर्णय ‘बन मार्फत समृद्धि कार्यक्रम’ घोषणा गरेका थिए । 

उक्त घोषणा अनुसार नै पालिकाका किसानलाई थप व्यावसायिक बनाउनका लागि पाती खेती सुरु गर्न लागिएको अध्यक्ष  स्याङबोले जानकारी दिए। गाउँपालिकाले ६ लाख पातीका बिरुवा खरिद गरेर ल्याएर पालिका भित्रका किसानलाई निस्शुल्क वितरण गर्ने तयारी गरेको छ । पालिकाले मागका आधारमा किसानलाई पातीको बिरुवा उपलब्ध गराउने अध्यक्ष स्याङबोले जानकारी दिए। 

तीतेपाती मानव शरीरमा लागेका सयौँ रोगको उपचार गर्न औषधिको रूपमा प्रयोग हुँदै आएको छ । नेपालको पाती विशेष गरी जापानमा बढी खपत हुने गर्दछ । तीतेपातीको पातको पछाडिको भुवालाई रिफाईन गरेर निकालिएको भुवादार पदार्थलाई मोग्जा भनिन्छ।उक्त मोग्जालाई नै औषधिको रूपमा प्रयोग गरिन्छ । विश्वमा तीतेपातीको मोग्जा उत्पादन गर्ने देश पहिलो चीन, दोस्रो जापान, तेस्रो कोरिया हो भने चौथो नेपाल हो । 

विश्वमा पाइने उच्च गुणस्तर मोग्जा नेपालको रहेको पालिका अध्यक्ष स्याङबोले जानकारी दिए । अध्यक्ष स्याङबोले भने, ‘‘यो खेतीलाई प्रवर्धन गरी उच्च परिमाणमा उत्पादन गर्दै निर्यात गर्दा देशको व्यापार घाटा कम गर्न सकिन्छ ।’’ 

उनले तीतेपाती खेतीले गाउँमा रोजगार सृजना गर्ने, ग्रामीण अर्थतन्त्र चलायमान बनाउने बताए । तीतेपाती खेतीलाई बाँदर, दुम्सी, खरायो जस्ता जनावरले नखाने भएकाले धेरै किसानलाई फाइदा पुग्ने गाउँपालिकाले जनाएको छ । 

तीतेपातीको खेती यस अघि पाँचथर नवमीडाँडाका टिआए आङदम्बबेले गर्दै आएका छन् । बारीबाटै सय रुपियाँ प्रति किलोग्राम बिक्री हुँदै आएको पातीको बिक्री गर्नका लागि गाउँपालिकाले विभिन्न कम्पनीसँग समन्वय गर्ने जनाएको छ । 

पालिकाले यसअघि देखि नै गुन्द्रुक, सिस्नोको ब्राण्डिङ गर्दै आएको छ । पालिकाले बेसार खेतीको समेत प्रवर्धन गर्दै आएको छ । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।