काठमाडौंः  एसएस इभेन्ट्स प्रा.लि र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।

 सुपर सिक्सेस बैशाख २३ देखि २८ गतेसम्म हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । तीन वर्षपछि हुन लागेको कर्पोरेट सुपर सिक्सेसमा कुल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पाँच ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिगकम नकआउटका आधारमा हुने छ । प्रतियोगितामा नेपाल क्रिकेट संघ       (क्यान) को प्र्राविधिक सहयोग रहने एसएस इभेन्ट्स प्रा.लिका निर्देशक सुमित रौनियारले बताए । 

एसएस इभेन्ट्सका निर्देशक रौनियारले नाफा कमाउने भन्दा पनि नेपाली क्रिकेटमा विकास गर्ने र कर्पोरेट सेक्टरलाई क्रिकेटमा भित्राउने उद्देश्यअनुरूप प्रतियोगिता आयोजना गर्दै आएको बताए । अब छिट्टै उमेरसमूहका साथै अन्य फर्मेटको क्रिकेट प्रतियोयगिता पनि आयोजना गर्दै नेपाली क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य रहेको रौनियारले बताए । सन् २०१४ मा सुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस इभेन्ट्सले नै आयोजना गर्दै आएको थियो । सातौं संस्करणदेखि नेकोस जोडिएको हो । पत्रकार सम्मेलनमा एसएस इभेन्ट्सका निर्देशक रौनियार र नेकोसका सचिव विप्लभ घोषबीच सम्झौता पत्र हस्ताक्षर भएको थियो ।

छैटौं संस्करण सन् २०२० मा नै आयोजना भए पनि कोरोना महामारी र आर्थिक संकटका कारण सातौं सिजन भने लामो समयसम्म हुन सकेन । प्रतियोगिता प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ । यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् । आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने भएको छ । 

कर्पोरेट क्षेत्रमा काम गरेको र क्रिकेटबाट सन्न्यास लिएको ६ महिना पूरा भएको व्यवसायिक क्रिकेटरले पनि कर्पोरेट हाउसबाट खेल्ने पाउने एसएस एभेन्ट्सका निर्देशक रौनियारले जानकारी दिए ।