इटहरीः  उपत्यकामा झन्डै डेढ अर्ब रुपियाँ बराबरको धुलो दुध र मखन मौज्दात रहेको छ । बजारमा बिक्री नहुँदा दुग्ध विकास संस्थान (डिडिसीं)को काठमाडौँ दुग्ध विकास आयोजना बालाजुमा झन्डै डेढ अर्ब रुपियाँ बराबरको मखन र पाउडर दुध मौज्दात रहेको हो । 

उपत्यकामा सबैभन्दा ठुलो बिक्री आयोजना बालाजुमा एक अर्ब ३५ करोड पाँच लाख ४६ हजार रुपियाँको सामान मौज्दात रहेको छ । दस लाख १५ हजार ५६५ केजी धुलो दुध र सात लाख ६७ हजार १४४ केजी मखन मौज्दात रहेको आयोजनाले जनाएको छ । मखन प्रतिकेजी ९ सय रुपियाँ बिक्री मूल्य राखिएको छ । 

आयोजनाका निमित्त प्रमुख गणेशकुमार यादवले बजारमा माग घट्दा दुधको बिक्री नहुँदा ठुलो मात्रामा धुलो दुध र मखन मौज्दात रहेको जानकारी दिए । आर्थिक मन्दीका कारण बजारमा दुधको माग घट्दा, दुधको खपत बढ्न सकेन, बिक्री नभएको दुधबाट बनाएको धुलो दुध र मखन स्टक बढ्दै गएको उहाँको भनाइ छ । मौज्दात सामानका कारण संस्थान नाफा देखिए पनि बिक्री बढ्न नसक्दा किसानलाई भुक्तानी दिन कठिन परेको उनको भनाइ छ । 

आयोजनाले गत साउनदेखि नै धुलो दुधको मौज्दात राख्न थालेको थियो । पाउडर दुध बिक्री नहुँदा ठुलो परिणाममा स्टक हुँदा दुध खरिदबापतको किसानको रकम भुक्तानी गर्न नसकिएको आयोजनाले जनाएको छ । आयोजनाबाट हाल दैनिक ६१ हजार लिटर सङ्कलन भइरहेको र ७० हजार लिटर उपत्यकाका बजारमा वितरण भइरहेको आयोजनाले जनाएको छ । स्टकमा रहेको धुलोसमेत मिसाएर बजारमा बिक्री गर्ने गरिएको छ । 

 सिजनको बेलामा बिक्री नभएको ४० हजार लिटर कच्चा दुधको धुलो दुध बनाउने गरेको आयोजनाले जनाएको छ । बजारमा निजी उद्योगीबाट खुला दुध बिक्री हुनु, उपभोक्ताको क्रयशक्ति घट्दा उपभोगमा कटौती भएकाले पनि खपतमा कमी आएको यादवको भनाइ छ । बजारमा माग न्यून हुँदा दुधको बिक्री बढ्न नसक्दा आयोजनाले ठुलो परिणाममा धुलो दुध बनाएर मौज्दात राखेको हो । 

विगत छरसात महिनादेखि नै दुधको मौज्दात राख्न थालिएको आयोजनाले जनाएको छ । धुलो दुधको उपभोग समय १८ महिना र मखनको उपभोग गर्ने म्याद १२ महिना हुने गर्छ । आयोजनाले सिजनको बेला बढी भएको दुधलाई पाउडर बनाएर अफ सिजनमा बिक्री गर्ने गर्छ तर यो वर्ष भने अफ सिजनमा पनि दुधको खपत बढ्न नसक्दा स्टक दुध बिक्री हुन सकेन । अन्य आयोजनामा पनि धुलो र मखनको मौज्दात रहेको छ । 

डिडिसीका अनुसार मुलुकभर दैनिक एक लाख ३० हजार लिटर दुध सङ्कलन हुने गरेको छ । अनौपचारिक रूपमा ब्रान्ड र लोगो नभएको खुला दुध बिक्री भएकाले पनि डिडिसीको दुध बिक्रीमा प्रत्यक्ष असर पुगेको बताइएको छ ।