काठमाडौंः  नेपाल गल्फ संघले दुई अलग अन्तराष्ट्रिय प्रतियोगिता खेल्न जाने राष्ट्रिय टिमका खेलाडीहरू सदभाव आचार्य, राहुल विश्वकर्मा र कश्मीरा शाहलाई बिदाई गरिएको छ। उनीहरूलाई नेपाल गल्फ संघका कोषाध्यक्ष किशन अग्रवालले बिदाई गरे।

सदभाव र राहुलले ३७ औं संस्करणको बङ्गलादेश एमेच्योर ओपन गल्फ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछन। प्रतियोगिता यही बुधबारदेखि शनिबारसम्म ढाकाको कुर्मीतोला गल्फ क्लबमा हुनेछ।

सदभाव र सुवाश तामाङले गत संस्करणमा टिम स्पर्धामा कुल ४–ओभर २ सय ९२ को स्कोरमा नेपाललाई स्वर्ण दिलाएका थिए। १२ टिम सहभागी प्रतियोगितामा नेपाल पहिलो भएको थियो। यो पटक राहुल र सदभावलाई नेपालको लागि लगातार दोस्रो पटक स्वर्ण दिलाउने अवसर रहेको छ। दुवै खेलाडीले टिम र व्यक्तिगत दुवैतर्फ प्रतिस्पर्धा गर्नेछन।

यो प्रतियोगितामा अहिलेसम्म नेपालले व्यक्तिगततर्फ भने स्वर्ण जित्न सकेको छैन। गत संस्करणमा सुवाशले व्यक्तिगततर्फ रजत पदक जितेका थिए। सुवाश श भने भारतीय गल्फ टुरको क्यु–स्कुल खेल्ने तयारीमा रहेका छन। यही कारण उनले सहभागीता नजनाएका हुन।

सदभावसँग यो प्रतियोगिताको अनुभव रहेको र पछिल्लो समय एसियन गेम्स र एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसीपमा पनि सहभागी भएको कारण उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। राहुलले पछिल्लो समय तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षण गरेका थिए।

राहुल एकेडेमीबाट नेपाल फर्किसकेका छन। केहि दिनदेखि सदभाव र राहुलले गोकर्ण क्लफ क्लबमा प्रतियोगिताको तयारी गरिरहेका छन। राष्ट्रिय टिमबाट राहुलले पहिलो पटक सहभागीता जनाउँदै छन।

सदभाव र राहुल टिम व्यवस्थापक समेत रहेका नेपाल गल्फ संघका सचिव श्रीराम भण्डारी सोमवार ढाका प्रस्थान गर्नेछन्।

नेपाली राष्ट्रिय महिला गल्फ खेलाडी कश्मीरा शाहले वुमन्स एमेच्योर एसिया प्यासिफिक च्याम्पियनसीपमा भाग लिदैछिन। थाइल्याण्डको पटायास्थित सायम कन्ट्री क्लबमा हुने च्याम्पियनसीपमा वरियताको आधारमा कश्मीरालाई नेपाल गल्फ संघले छनोट गरेको हो। उनी महिला विश्व गल्फ वरियतामा ९ सय ३७ औं स्थानमा रहेकी छिन।

च्याम्पियनसीप माघ १८ गतेदेखि २१ गतेसम्म हुनेछ। जहाँ एसियाका ९० महिला एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन।कश्मीराले यो प्रतियोगिता लगातार दोस्रो पटक खेल्न लागेको हो।
कश्मीरा आज नै बैंकक जाँदैछिन। नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले उक्त प्रतियोगितामा व्यवस्थापकको जिम्मेदारी निर्वाह गर्नेछन्।