विराटनगर : विराटनगर महानगरपालिका-९ मा रहेको ग्रीनक्रस अस्पतालबाट शिशु बिक्री गरिएको घटनासँग सम्बन्धित मुद्दामा बुधबार जिल्ला अदालत मोरङले आदेश गरेको छ। 

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले चिकित्सकसहित ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अन्य ३ जनालाई धरौटीमा छाड्न आदेश गरेको छ। इजलासले शिशु बिक्री गरिएको घटनामा संलग्न रहेको अभियोगमा विराटनगर-२ तीनपैनी घर भएका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका-४ का २७ वर्षीय गोविन्द राई र डा. तपेश्वरसँग शिशु खरिद गरेर लैजाने मोरङको कटहरी गाउँपालिका-२ आदर्श टोलका ३० वर्षीय सूर्यनारायण राजवंशीलाई थुनामा राख्न आदेश दिएको हो। 

अदालतका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार आदेशपछि तीनै जनालाई जिल्ला कारागार मोरङ चलान गरिएको छ। मुद्दामा अभियुक्त बनाइएका सिरहा घर भई विराटनगर-११ जनपथ टोल बस्ने ४० वर्षीया नीरु भनिने निर्मला यादव, मोरङको कटहरी-२ की ३३ वर्षीया सुधा भनिने शुक्री राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशीलाई धरौटी रकम लिएर छाड्न अदालतले आदेश दिएको छ। 

शुक्रीसँग २ लाख, निर्मलासँग १ लाख र दिलमनीदेवीसँग १० हजार रूपैयाँ धरौटी माग गरिएको सूचना अधिकारी सुवेदीले बताए। उनका अनुसार तीनै जना धरौटीवापतको रकम बुझाएर छुटेका छन्। जिल्ला सरकारी वकिल कार्यालय मोरङले ६ जनालाई अभियुक्त बनाएर अपहरण तथा व्यक्ति बेपत्ता पार्ने कसूरमा सोमबार अदालतमा मुद्दा दर्ता गरेको थियो। अभियुक्तमध्ये डा. तपेश्वर र गोविन्दलाई भदौ १ गते तथा अरुलाई भदौ ५ गते पक्राउ गरेर प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो। 

प्रहरीले अभियुक्तविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूर, मानव बेचबिखन र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। तर, वकिल कार्यालयले मानव बेचबिखन र संगठित अपराधमा मुद्दा चलाएन। अपहरण र व्यक्ति बेपत्ता पारेको कसूरमा मात्रै मुद्दा चलायो। 

अनुसन्धानबाट खुलेको तथ्यविपरीत र अनुसन्धान नै नभएको शीर्षकमा मुद्दाको अभियोजन भएपछि वकिल कार्यालयको भूमिका शंकास्पद देखिएको छ। अभियुक्तलाई सजायबाट उन्मुक्ति मिल्ने गरी बदनियतपूर्ण तरिकाले अभियोजन गरिएको कानुनका जानकारहरु बताउँछन्। प्रहरीले घटनामा संलग्न रहेको भन्दै ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरेपनि वकिल कार्यालयले अस्पतालका सञ्चालक कृष्णकुमार खवासविरुद्ध भने मुद्दा नचल्ने निर्णय गरेको थियो। 

अदालतको आदेशबाट कारागार चलान भएका गोविन्द राईसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी २६ वर्षीया अविवाहित युवतीले असार १४ गते शिशु (छोरी) जन्माएकी थिइन्। बिहे गर्ने प्रलोभन देखाएर गर्भवती बनाएपछि गोविन्दले युवतीलाई बच्चा जन्माउने भनेर विराटनगर ल्याएको अनुसन्धानबाट खुलेको छ। ३५ हजार रूपैयाँमा कुरा मिलेपछि डा. तपेश्वरले गर्भवती युवतीलाई ग्रीनक्रस अस्पताल लगेर प्रसूति गराएका थिए। 

‘नर्मल डेलिभरी’मार्फत छोरी जन्माए पनि युवतीले लैजान पाइनन्। अस्पतालले बिदा दिएपछि युवतीलाई प्रेमी गोविन्दले सुनसरीको इटहरी लिएर गएका थिए। इटहरी लगेर होटलमा राखेपछि गोविन्दले छाडेर हिँडेको र जीवितै जन्माएको बच्चासमेत साथमा नभएको भनेर युवतीले साउन ३२ गते मोरङ प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो। 

अनुसन्धानबाट डा. तपेश्वरले निःशन्तान दम्पतीलाई ५ लाख रूपैयाँ शिशु बिक्री गरेको पत्ता लागेको छ। गायव पारिएको ५४ दिनपछि प्रहरीले शिशुलाई मोरङको कटहरी-२ आदर्श टोलबाट गत भदौ ५ गते जीवितै उद्धार गरेको थियो। जन्मनासाथ अस्पतालबाटै गायब पारिएको शिशुलाई दिलमनीदेवीको घरमा फेला पारिएको हो। 

दिलमनीदेवीका छोरा सूर्यनारायणको बिहे भएको १० वर्षसम्म पनि सन्तान भएका थिएनन्। अविवाहित युवतीले बच्चा जन्माएको खबर पाउनसाथ अस्पताल आएका आमा दिलमनीदेवी र छोरा सूर्यनारायणले ५ लाखमा शिशु किनेर लगेको अनुसन्धानबाट यकिन भएको छ। शिशुकी आमालाई थाहै नदिइकन उनका प्रेमी अर्थात बच्चाका बाबु (गोविन्द) र चिकित्सक (डा. तपेश्वर)समेतको मिलेमतोमा बच्चा बिक्री गरिएको पत्ता लागेको हो। 

तपेश्वरले ग्रीनक्रस अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी सुधा भनिने शुक्रीमार्फत दिलमनीदेवीको परिवारलाई बच्चा उपलब्ध गराएको खुलेको छ। शुक्री दिलमनीदेवीको आफन्त रहेको प्रहरीले जनाएको छ। प्रतिवादी बनाइएकीमध्ये निर्मला डा. तपेश्वरको दिपेश मेडिकलमा काम गर्ने अनमी हुन्। उनी अस्पतालकी कर्मचारी हैनन्। तर, निर्मलाले गर्भवती युवतीलाई प्रसूति गराउन सहयोग गरेको खुलेको छ। डा. तपेश्वर २०७० चैतदेखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) थिए।यो खबर आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।