काठमाडौंः इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले अदालतबाट जन्मकैदको सजाय तोकिएको व्यक्तिलाई राजनीतिक रुपमा संरक्षण गर्दै कैद कट्टा गरेर सरकारले दण्डहीनतालाई पश्रय दिएको आरोप लगाएका छन ।

चेतन मानन्धरको हत्यामा अदालतबाट जन्मकैदको फैसला सुनाइएका योगराज ढकाल (रिगल)को कैद सजाय मिनाहा गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै ०८० असोज १७ गतेदेखि माइतीघर मण्डलामा रिले अनशनमा बसेकी चेतनकी पत्नी भारती शेर्पाका आफन्तलाई भेटेर अध्यक्ष अर्यालले सो कुरा बताएका हुन।

इन्सेकका अध्यक्ष डा.अर्यालले इन्सेक सदैव पीडितको न्यायको पक्षमा रहेकाले भारतीको न्यायका लागि राष्ट्रिय अन्तराष्ट्रिय निकायमा उचित रुपमा आवाज उठाउने प्रतिबद्धता जनाए ।

अनौपचारिक सेवा क्षेत्र केन्द्र (इन्सेक)लगायत मानव अधिकार संस्थाले अनशनस्थल पुगेर न्यायको अभियानमा ऐक्यबद्धता जनाएका छन् । इन्सेक अध्यक्ष डा.कुन्दन अर्यालको नेतृत्वको सो टोलीमा महिला पुनर्स्थापना केन्द्र (ओरेक) की अध्यक्ष डा.रेणु अधिकारी, अधिकारकर्मी शोभाखर बुढाथोकी, सुशील बिकसँगै इन्सेक केन्द्रीय कार्यालयको एक टोली सहभागी थियो ।

भेटघाटका क्रममा अनशनरत भारती शेर्पाका आफन्त सुरेश जिसीले भारतीको न्यायको लागि सम्बन्धित निकायमा पहल गरिदिन इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालसँग अनुरोध गरे । जिसीले भने  जिल्ला अदालतबाट योगराजलाई जन्मकैदको फैसला हुँदा हामीहरुले न्यायको महसुस गरेका थियौँ । तर, सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका कारण हाम्रो घाउमा झन् पीडा थपिएको छ । दिनदहाडै मान्छेको हत्या गर्ने मान्छे देशको अभिभावकबाट आममाफी पाएर खुलेआम बाहिर अबिरमाला लगाएर हिँड्दा हामीले त्रासको वातावरणमा बाँचिरहनुपरेको छ ।ु

त्यस्तै भारतीका आफन्तलाई भेट्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले गम्भीर अपराधमा अदालतबाट दोषी ठहर्‍याएका व्यक्तिलाई सरकारले कैद माफ गर्दै रिहा गर्नु मानव अधिकारको गम्भीर हनन् भएको बताइन। पराजुलीले घटनाका सम्बन्धमा आयोगले आफ्नो तरिकाले सुक्ष्म ढङ्गले अध्ययन अनुगमन गरिरहेको उल्लेख गरिन।

०७२ असार २८ गते नेपालगञ्जमा मारिएका चेतन मानन्धरको हत्या अभियोगमा बाँके जिल्ला अदालतबाट जन्मकैदको सजाय तोकिएका योगराज ढकाललाई मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ०८० असोज ३ गते संविधान दिवसका अवसरमा कैद कट्टा दिएका थिए ।