काठमाडौंः इलेक्ट्रोनिक सिगरेट (भेप) मार्फत सुन तस्करीलाई सहयोग गरेको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले भेप छुटाउन पहल गरेको स्वीकार गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लिएको बयानमा बाबुछोरा दुवैले भन्सारमा भेप अड्किएको र त्यसलाई छुटाउन भन्सार प्रमुखलाई फोनबाट र भेटेर पहल गरेको स्विकारेका हुन् । 

चिनियाँ नागरिक दावाजिन वाङको आग्रहमा भन्सार कार्यालयमा अड्किएको भेप छुटाउन पूर्वसभामुखसमेत रहेका महराले भन्सार प्रमुख अरूण पोखरेललाई फोन गरेको र राहुलले निमित्त भन्सार प्रमुख मुक्तिप्रसाद श्रेष्ठलाई भेटेरै आग्रह गरेको स्वीकार गरेका हुन् । तर सिआइबीले पूर्वसभामुख महरालाई उन्मुक्ति दिएर छोरा राहुल महरालाई मुद्दा चलाउनुपर्ने राय दिएको छ । ब्युरोले आइतबार सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै त्यस्तो राय दिएको हो ।

सिआइबीले राहुल महरासहित तीन जनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । राहुल महरासँगै तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन सिआइबीले राय दिएको हो । भियना होटलका मालिक दावा छिरिङ भने हाल राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब ६१ किलो सुन प्रकरणमा समेत संलग्न रहेकाले पुर्पक्षका लागि थुनामा छन् । 

सिआइबीले भेप प्रकरणमा एक जनालाई फरार सूचीमा राखेको छ । भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो कायम गर्न पनि सिआइबीले सुझाएको छ । २०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिक ली हासोङको योजनामा भेपमा लुकाएर ल्याइएको ९ किलो सुन भेटिएको थियो ।

भेपका रूपमा ल्याइएको वस्तु शंकास्पद देखिएपछि तत्कालीन विमानस्थल भन्सार कार्यालयले त्यसलाई ‘होल्ड’ गरेको थियो । त्यसपछि भेप छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुलले दबाब दिएका थिए । महरा बाबुछोराले २५६ पटक फोन गरेर सुन छुटाउने प्रयास गरेको यसअघि सिआइबीको प्रतिवेदनमा उल्लेख गरेको छ । त्यो सुन भन्सारबाटै चोरी भएपछि सिआइबीले अनुसन्धान गरेको थियो ।

गत असार २७ गते मुद्दा दायर भए पनि महरा बाबुछोरालाई उन्मुक्ति दिइएको थियो । ‘भन्सारका एक कर्मचारीलाई सामान अड्किएको र कानुनअनुसार गर्नुस् भनें । छोड्न मिल्ने हो भने छोड्नुस्, लिलाम गर्नुपर्ने भए लिलाम गर्नुस् भनें, मैले भनेको यत्ति हो,’ पूर्वसभामुख महराले भनेका छन् । उनले यसअघि पनि कानुनसम्मत भए छाडिदिन भनेको स्वीकार गरेका थिए । ‘मलाई वाङको सामान आउने भनेको फलफूल मात्रै हो भन्ने थाहा थियो । अनि उनले भेपको सामान भनेपछि मैले पटकपटक लिगल हो कि इलिगल हो भनेर सोधें । उनले लिगल हो भने । अनि मैले लिगल हो भने के समस्या भयो त भनेर भन्सारका एक कर्मचारीलाई सामान अड्किएको बताएर कानुनअनुसार गर्नुस् भनें,’ उनले भनेका थिए ।

भन्सारमा रहेको ई–सिगरेट सुन ल्याउने समूहमा चिनियाँ नागरिक ली हाङसोङ, दावाजिन वाङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरालगायतले सम्पर्कसूत्रको काम गरेका थिए । २०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका एक चिनियाँ यात्रु हाङसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप) भित्र ठुलो मात्रामा सुन लुकाएर ल्याएका थिए । त्यतिबेला भन्सार विभागले ई–सिगरेट बरामद गरेर यात्रुलाई छाडेको थियो । यात्रु छाडेपछि ती चिनियाँ नागरिक विभिन्न व्यक्तिलाई प्रयोग गरेर महरा बाबुछोराको सम्पर्कमा पुगेका थिए ।

भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र गार्डसमेत मिलेर ई–सिगरेटमा भएको सुन निकाली करिब ९ करोड मूल्य पर्ने भए पनि करिब ६ करोड रूपैयाँमा बिक्री गरेका थिए । पुस १० मा सुन लिएर दुबई हुँदै आउने चिनियाँ नागरिक हाङसोङ सातपटकसम्म नेपाल आएको देखिएको र त्यसक्रममा तस्करीमा संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

सुन बेच्ने योजनाकार भन्सार एजेन्ट बस्नेत रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । सिआइबीले बुझाएको प्रतिवेदनअनुसार विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा खड्कासँग मिलेर बस्नेतले नौ किलो सुन चोरी गरी बिक्री गरेका थिए । तर त्यो सुन गायब पार्नुअघि नै उनीहरूले महरा बाबुछोराको सोर्स लगाएर लिलामीमार्फत फिर्ता लैजाने कोसिस गरेका थिए ।

भन्सार विभागमा रहेको त्यो वस्तु शंकास्पद देखिएपछि २०७९ माघ २९ गते प्रहरीले मुचुल्का बनाई अनुसन्धानका लागि सिआइबीलाई पठाएको थियो । सिआइबीले अनुसन्धानका लागि जिम्मेवारी पाउँदा दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट थिए । आगो नसल्किने उक्त सिगरेटलाई गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो । 

पटकपटक स्क्यान गरेर बाकसमा चुरोटबाहेक अरू कुनै बहुमूल्य वस्तु नभएको ठहरिएपछि भन्सारका कर्मचारीले त्यसलाई गोदाममा थन्क्याएर राखेका थिए । सामान्यतः जफत गरिएका सामानहरू एकत्रित गरी एकदुई महिनामा लिलामीका लागि पठाउने अभ्यास रहेकाले उक्त सामान पनि करिब ५० दिनदेखि गोदाममै थियो । भन्सार विभागले लिलामीका लागि सामान तयार गर्दा महरा बाबुछोराले चासो राखेपछि सिआइबीलाई अनुसन्धानका लागि पठाएको थियो ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा रेवन्त खड्का, दिनेश बस्नेत, निर्मल विक, दीपेश बस्नेत, गोपाल सुवेदीको सम्पर्क सुन खरिदकर्ता वेदप्रकाश अग्रवालसँग रहेको उल्लेख छ । सुन खरिद गर्ने समूहका अन्य सदस्यहरूमा गणेश बडू, साहेब राव मार्गेला, सचिन पावर, नन्दु कुमार रहेको उल्लेख छ । 

विमानस्थलबाट सुन गायब गर्ने प्रमुख व्यक्तिमा त्रिभुवन विमानस्थल कार्यालय गौचरको मुद्दा शाखाअन्तर्गतको गोदामको कार्य जिम्मेवारी तोकिएका नायब सुब्बा खड्का, सिन्धुपाल्चोकको सुनकोसी–६ का ३२ वर्षीय दिनेश बस्नेत, धरान उपमहानगरपालिका–२ घर भई हाल काठमाडौं भोटेबहाल बस्ने ५४ वर्षीय वेदप्रकाश अग्रवाल, भारत महाराष्ट्र घर भई अहिले काठमाडौं बस्ने ३९ वर्षका साहेब राव, सिन्धुपाल्चोक सुनकोसी–६ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ३२ वर्षीय अमृत कार्की, बागलुङको काठेखोला–३ स्थायी ठेगाना भएका र हाल पोखरा बस्ने वर्ष २२ का निर्मलकुमार विक, सिन्धुपाल्चोकको सुनकोसी–६ घर भई हाल कागेश्वरी मनहरा बस्ने वर्ष २९ का दीपेश बस्नेत र सोही ठाउँ स्थायी ठेगाना भएका र अहिले पेप्सीकोला बस्ने वर्ष ४२ का गोपाल सुवेदी पक्राउ परेका छन् । काभ्रेको बनेपाका रामकेशव थापा भने फरार छन् ।यो खबर आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।