काठमाडौंः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), शुभ अवसर ग्राम नेपाल, मिडिया एड्भोकेसी ग्रुप (म्याग) र जिल्ला प्रहरी परिसर, काठमाडौँको समन्वयमा ठमेलको बदनाम गल्लीस्थित दुई ओटा डान्सबारबाट ०८० असोज १९ गते राती ११ जना बालिकाको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी परिसर, इन्सेक, शुभ अवसर ग्राम नेपाल, मिडिया एड्भोकेसी ग्रुप (म्याग) र जिल्ला प्रहरी परिसर अन्तर्गत रहेको कालिमाटीस्थित महिला बालबालिका, ज्येष्ठ नागरिक तथा दलित सेवा केन्द्रको संयुक्त उद्धार टोलीले ठमेलका विभिन्न डान्सबार र दोहोरी साँझहरूमा नाबालिकाहरूलाई जबर्जस्ती काम लगाउने गरेको सूचनाका आधारमा त्यस क्षेत्रमा अनुगमन गरेर अमिर लज एण्ड बारबाट १० जना र मिनी हेभन डान्सबारबाट १ जना बालिकाको उद्धार गरेको थियो ।

उद्धार गरेका बालिकाहरूको असोज १९ गते सोह्रखुट्टेस्थित पिपल्स मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गरेर सिनामङ्गल स्थित सुभ अवसर ग्रामको सेफहाउसमा राखिएको छ ।

उद्धार गरिएका बालबालिकालाई मनोपरामर्श दिइ उनीहरूको आवश्यकता अनुसार पठनपाठन र तालिम प्रदान गरिने र अभिभावकको जिम्मा लगाइने शुभ अवसर ग्रामका कार्यक्रम व्यवस्थापक विकास ढुङ्गानाले बताए।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बालबालिकाहरूलाई जबर्जस्ती काम लगाउने, शारीरिक एवम् मानसिक शोषण गर्ने र पारिश्रमिक नदिने डान्सबार सञ्चालकहरूलाई बालबालिका ऐन, २०७५ अनुसार कारबाही गरिने उल्लेख गरे।